भोजपुर, १९ वैशाखः भौगोलिक रूपमा विकट मानिने यहाँको हतुवागढी गाउँपालिका–४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहजता भएको छ । वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहँदै आएका यहाँका बासिन्दाले अहिले गाउँमै प्राथमिक उपचार तथा स्वास्थ्य सेवा पाउन थालेपछि राहत महसुस गरेका हुन् ।
दुर्गम भूगोल, कठिन पैदलमार्ग र यातायातको अभावका कारण सामान्य बिरामी हुँदा घण्टौँ हिँडेर अन्य स्थान पुग्नुपर्ने बाध्यता रहेको लुङ्थुङमा स्वास्थ्य एकाइ स्थापना भएपछि सेवा पहुँचमै आएको छ । यसअघि सानो–सामान्य रोगको उपचारका लागिसमेत जोखिम मोलेर टाढा जानुपर्ने अवस्था रहेकोमा अहिले गाउँमै उपचार सम्भव भएको स्थानीयले बताएका छन् ।
यस स्वास्थ्य एकाइबाट साविक खैराङका वडा नम्बर २, ३, ४, ५ र ६ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । करिब ३०० घरपरिवारलाई नियमित रूपमा सेवा प्रवाह भइरहेको जनाइएको छ । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई यसले ठूलो राहत पुगेको छ ।
स्थानीयवासी राजकुमार खत्रीका अनुसार स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य औषधि लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । “पहिले सिटामोलजस्ता सामान्य औषधि लिन पनि टाढा जानुपथ्र्यो, अहिले गाउँमै सेवा पाइँदा धेरै सहज भएको छ,” उहाँले भन्नुभयो ।
हतुवागढी गाउँपालिका–४ खैराङका वडाध्यक्ष चन्द्रबहादुर विष्टले नागरिकलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार लुङ्थुङ क्षेत्र ठूलो भूगोलमा फैलिएको र यातायात पहुँच कमजोर भएका कारण यहाँका बासिन्दाले लामो समयदेखि स्वास्थ्य सेवामा कठिनाइ भोग्दै आएका थिए ।
“लुङ्थुङ भौगोलिक रूपमा निकै विकट र फैलिएको क्षेत्र हो,” वडाध्यक्ष विष्टले भन्नुभयो, “यहाँ स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता थियो । नागरिकले भोगेको समस्यालाई मध्यनजर गर्दै वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरी सेवा प्रवाह गरेका हौँ ।”
स्थानीय तहले आगामी दिनमा स्वास्थ्य एकाइलाई थप व्यवस्थित र सुदृढ बनाउने योजना बनाएको छ । आवश्यक जनशक्ति व्यवस्थापन, औषधिको नियमित आपूर्ति, उपकरण विस्तार तथा सेवाको दायरा बढाउनेतर्फ ध्यान दिइने वडाध्यक्ष विष्टले बताउनुभयो ।
स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि यहाँ प्राथमिक स्वास्थ्य सेवा, सामान्य जाँच, औषधि वितरण, खोप सेवा, गर्भवती जाँच तथा स्वास्थ्य परामर्शजस्ता सेवा उपलब्ध हुन थालेका छन् । यसले सानातिना रोगको समयमै उपचार हुने, जटिलता कम हुने तथा स्वास्थ्य सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
स्थानीय दीर्गसिंह कार्कीका अनुसार स्वास्थ्य सेवा अभावकै कारण विगतमा सानातिना रोगले पनि गम्भीर रूप लिने र अकालमै ज्यान गुमाउनुपर्ने जोखिम रहने गरेको थियो । “गाउँमै स्वास्थ्य एकाइ स्थापना भएपछि हाम्रो धेरै समस्या समाधान भएको छ,” उहाँले भन्नुभयो, “पहिले सामान्य उपचार नपाउँदा समस्या बढ्थ्यो, अहिले समयमै उपचार पाइरहेका छौँ ।”
त्यस्तै, आकस्मिक अवस्थामा प्राथमिक उपचार उपलब्ध हुँदा थप जटिलता हुनबाट जोगिने उहाँको भनाइ छ । स्वास्थ्यकर्मीको नियमित उपस्थितिले स्थानीयमा स्वास्थ्यसम्बन्धी चेतना बढाउने, सरसफाइ र पोषणसम्बन्धी जानकारी फैलाउने काममा सहयोग पुगेको उहाँले बताउनुभयो ।
ग्रामीण तथा दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासअन्तर्गत स्थापना गरिएको यो स्वास्थ्य एकाइले स्थानीयको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने स्थानीयको भनाइ छ । रासस
प्रतिक्रिया