बैसाख २७, २०८३ आइतबार May 10, 2026

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

पछिल्लो समय अस्पतालमा शल्यक्रिया प्रसूति सेवा भरपर्दो र विश्वसनीय बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुस्ताङ, २७ वैशाखः घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । अस्पतालले शुक्रबार २९ वर्षीय महिलाको शल्यक्रिया (सिजेरियम सेक्सन) द्वारा प्रसूति गराएको हो ।

पहिलोपटक गर्भवतीको गर्भावस्थाको ४२ हप्ता ६ दिन पुग्दासमेत प्रश्रव व्यथा सुरु नभएको, गर्भको शिशु कम चलेको र प्रसूति समस्या जटिल बन्दै गएको गुनासोसहित अस्पताल पुगेकी ती महिलाको शल्यक्रियाद्वारा प्रसूति गराइएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा समीक्षा कँडेलका अनुसार आमा र शिशुको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा पानीको मात्रा निकै कम भएको र शिशुको अवस्था जोखिमपूर्ण रहेको थियो ।

गर्भवतीको अवस्थाबारे आफन्तजनलाई उचित परामर्श दिएर आकस्मिक शल्यक्रिया (सिजेरियन सेक्सन) द्वारा सफल प्रसूति गरिएको डा कँडेलको भनाइ छ । शल्यक्रियाद्वारा महिलाले दुई किलो ५ सय ग्राम तौलको शिशु जन्मिएको हो ।

प्रदेश अस्पतालमा पछिल्लो चार आर्थिक वर्षमा सयभन्दा बढी महिलाले प्रसूति सेवा प्राप्त गरिसकेका छन् । सेवा लिन आएका मध्ये १६ गर्भवतीको शल्यक्रियाद्वारा सफल प्रसूति गराइसकिएको डा कँडेलले बताउनुभयो ।

पछिल्लो समय अस्पतालमा शल्यक्रिया प्रसूति सेवा भरपर्दो र विश्वसनीय बन्दै जाँदा यहाँका विपन्न र आर्थिक आयस्रोत कम भएका महिलालाई सहज भएको छ । यसअघि यहाँ शल्यक्रिया सेवा नहुँदा प्रसूति सेवा लिन धेरै पैसा खर्च गरी सुगमको अस्पतालमा धाउनुपर्ने बाध्यता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया