बैसाख २७, २०८३ आइतबार May 10, 2026

एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको अन्तिम तयारी

राष्ट्रिय परीक्षा बोर्डले १४ वटा वेबसाइटमार्फत समेत नतिजा सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले आइतबार सूचना जारी गर्दै विद्यार्थीहरूले नतिजा हेर्न सक्ने विभिन्न माध्यमबारे जानकारी सार्वजनिक गरेको हो।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तथा ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा एसएमएस, आईभीआर सेवा तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। विद्यार्थी तथा अभिभावकलाई सहज रूपमा नतिजा उपलब्ध गराउने उद्देश्यले यस वर्ष पनि डिजिटल माध्यमलाई प्राथमिकता दिइएको बोर्डले जनाएको छ।

सूचनाअनुसार विद्यार्थीहरूले आफ्नो सिमबाट निर्धारित नम्बरमा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, आईभीआर सेवामार्फत फोन गरेर पनि आफ्नो नतिजा थाहा पाउन सकिने व्यवस्था मिलाइएको छ।

यसका साथै, राष्ट्रिय परीक्षा बोर्डले १४ वटा वेबसाइटमार्फत समेत नतिजा सार्वजनिक गर्ने जनाएको छ। विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर वा आवश्यक विवरण प्रविष्ट गरेर वेबसाइटमै गएर नतिजा हेर्न सक्नेछन्।

बोर्डले नतिजा सार्वजनिक हुने मिति भने औपचारिक रूपमा घोषणा गरिसकेको छैन। तर, आवश्यक प्राविधिक तयारी अन्तिम चरणमा पुगेको र छिट्टै नतिजा सार्वजनिक गरिने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)

वेबसाइटबाट नतिजा हेर्ने ठेगानाहरू:

इन्टरनेटको माध्यमबाट विस्तृत नतिजा र मार्कसिट हेर्नका लागि कार्यालयले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ। प्रमुख वेबसाइटहरू यस प्रकार छन्:

आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: https://khalti.com/app
निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी, र इन्द्रेणी टाइम्सका वेबसाइटहरूबाट पनि नतिजा हेर्न सकिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया