नारायणगढ, (चितवन), जेठ ४ गते । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ।
शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा सेवाग्राहीको घुइँचो बढेको हो ।
आज मात्रै बिमा र गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश पन्तले जानकारी दिनुभयो । सामान्यतया दैनिक करिब दुई हजार ५०० हाराहारी बिरामी आउने गरेमा पछिल्लो समय चाप बढेको उहाँले बताउनुभयो ।
सेवाग्राहीको घुइँचो बढेकाले अस्पतालबाट अन्य अस्पतालमा प्रेषण (रिफर) गर्न समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । रत्ननगर–१२ बाट आँखाको उपचारका लागि रिफर माग्न आउनुभएका रामविलास लामिछानेले थप उपचार गर्न अन्य अस्पताल जाँदा रिफर आवश्यक पर्ने भनिएपछि भरतपुर अस्पताल आएकामा भीडका कारण समयमा काम नभएको गुनासो गर्नुभयो ।
उहाँले आफू बिहान ८ः०० बजे आउँदा एक हजार २०० नम्बरमा पालो परेको बताउनुभयो । बिमाको रिफरका लागि धेरै समय कुर्न नपर्ने व्यवस्था हुनुपर्ने भन्दै लामिछानेले सरोकार भएका सबैको ध्यानाकर्षण गराउनुभयो ।
भरतपुर–२० चनौलीका नवराज भुसालले आँखाको उपचारका लागि रिफर लिन धेरै समय कुर्नुपरेको गुनासो गर्नुभयो । भरतपुर–५ का रामकृष्ण अधिकारीले नियमित उपचारका लागि आउने बिरामी भएकाले दुई दिन ओपिडी बन्द हुँदा सोमबार अस्पतालमा भीड बढेको बताउनुभयो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले दुई दिन बिदा परेकाले सोमबार बिरामीको चाप बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “ओपिडीको समय बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म हो । टिकट बिहान ८ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म पाइन्छ । तर अधिकांश सेवाग्राही बिहानै ५-६ बजेदेखि लाइनमा बस्नुहुन्छ । अस्पताल ५ः०० बजेसम्म खुला रहने भएकाले भीडभाड नगरी सेवा लिन आग्रह गर्दछौँ ।”
उहाँका अनुसार बिहानैदेखि सेवाग्राही लाइनमा बस्ने गरेकाले बिहानको समयमा बढी भीड देखिएको हो । ओपिडी सेवा दिनभर सञ्चालन हुने भएकाले सहज रूपमा सेवा लिन सकिने उहाँले बताउनुभयो । उहाँले अस्पतालले रिफर गरेर बाहिर पठाउने बिरामीका लागि छुट्टै कक्षमार्फत सेवा दिने तयारी गरिरहेको जानकारी दिनुभयो । एक-दुई दिनभित्र रिफर सेवालाई व्यवस्थित बनाइने उहाँको भनाइ छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया