काठमाडौँ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको “डिष्ट्रिक्ट क्याबिनेट पदाधिकारी प्रशिक्षण कार्यक्रम २०२६/०२७” ललितपुरको होटल भ्यू भृकुटीमा सम्पन्न भएको छ। जेठ २ गतेदेखि सुरु भएको उक्त विशेष आवासीय प्रशिक्षण कार्यक्रम मंगलबार जेठ ५ गते समापन भएको हो।
डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले गर्नुभएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय निर्देशक अनुमोदित राजन लम्साल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने विभिन्न पूर्व डिष्ट्रिक्ट गभर्नरहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
तीन दिनसम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा लायन्सको उद्देश्य, सामाजिक सेवामा लायन्सको भूमिका, नेतृत्व विकास, संगठनात्मक क्षमता अभिवृद्धि तथा व्यावहारिक जीवन उपयोगी विषयहरूमा सघन प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा सहभागी पदाधिकारीहरूलाई सेवा, नेतृत्व र संगठन सञ्चालनसम्बन्धी विविध अनुभव आदान–प्रदान गर्ने अवसर समेत प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित उत्प्रेरक वक्ता तथा विज्ञहरूले सहजीकरण गर्नुभएको थियो। सहजीकरण गर्नेहरूमा उत्प्रेरक वक्ता मन्नसी अग्रवाल, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन डी. के. ढुंगाना, उत्प्रेरक वक्ता रामजी अधिकारी, राजन लम्साल, चन्द्रकुमार केसी तथा राम बहादुर बसेल लगायत रहनुभएको थियो।
कार्यक्रम संयोजक एवं लायन्स वर्ष २०२६/०२७ का दोस्रो उपाध्यक्ष विष्णु प्रसाद भण्डारीका अनुसार उक्त महत्वपूर्ण प्रशिक्षण कार्यक्रममा क्याबिनेटका २१६ जना पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सन् २०२६/०२७ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर सुर्य कुमार केसीले प्रशिक्षणमा सहभागी सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो आगामी कार्यकालमा “बाँडेर हेरचाह गर्ने” भन्ने मूल नारालाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामाजिक सेवाका कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी बनाइने पनि बताउनुभयो।
कार्यक्रमको सञ्चालन वर्ष २०२६/०२७ का लागि मनोनीत सचिव अनुज कुमार श्रेष्ठले गर्नुभएको थियो। समापन समारोहमा तत्काल पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले सहभागी पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
यसैबीच, लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याबिनेट बैठक आगामी २०८३ साल जेठ ९ गते मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय स्थल Chitlang मा आयोजना हुने जानकारी पनि सो अवसरमा दिइएको छ।
हाल नेपालभर लायन्स क्लब्स अन्तर्राष्ट्रिय अन्तर्गत १५ वटा डिष्ट्रिक्ट, २३०० भन्दा बढी क्लब तथा हजारौँ सदस्यहरू सामाजिक सेवामा सक्रिय रहेका छन्। तीमध्ये डिष्ट्रिक्ट ३२५ आईमा मात्रै पाँच हजारभन्दा बढी सदस्य आबद्ध रहेको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया