काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरूसँगको आजको भेटमा उहाँले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराउनुभयो । सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र यससम्बन्धी अन्य कानुनले व्यवस्था गरेका संयन्त्रलाई चुस्तरुपमा परिचालन गरी यस क्षेत्रमा काम गरिने मन्त्री तिमिल्सिनाको प्रतिबद्धता छ ।
सुशासनको मुख्य एजेण्डामा सरकारले काम गरिरहेकाले सूचनाको हकका माध्यमबाट भ्रष्टाचार न्यूनीकरणमा उपयोग गर्ने गरी व्यवस्था गरिने उहाँले सुनाउनुभयो । राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्न लागिएको पनि मन्त्री तिमिल्सिनाको भनाइ छ ।
महासङ्घका अध्यक्ष उमीद बागचन्दले साङ्गठनिक रुपमा देशभर भइरहेका गतिविधिका बारेमा जानकारी गराउँदै राष्ट्रिय सूचना आयोग लामो समयदेखि पदाधिकारीविहीन भएकाले छिटो पदाधिकारी नियुक्त गर्न माग गर्नुभएको थियो ।
महासङ्घको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, उपाध्यक्ष दुर्गा तिवारी, महासचिव पूर्णप्रसाद मिश्र, केन्द्रीय सदस्य अभिमन्यु नेपाल, वाग्मती प्रदेश समितिका महासचिव भीम लामा, काठमाडौँ जिल्ला अध्यक्ष विनोद बस्नेतलगायतको उपस्थिति थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया