काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद झन्/झन् गहिरिँदै गएको छ । विशेष महाधिवेशनबाट सभापति बन्नुभएका गगनकुमार थापालाई तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले अझै स्वीकार गर्नुभएको छैन ।
पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतले निरूपण गरे पनि राजनीतिक विवाद भने बढ्दो ग्राफमा छ । असन्तुष्ट पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले ध्यान नदिएको भन्दै रुष्ट रहनुभएका पूर्व-उपसभापति पूर्णबहादुर खड्का पक्षले काठमाडौंको अनामनगरमा अलग्गै सम्पर्क कार्यालय खालेको छ । विशेष महाधिवेशनपछि असन्तुष्ट बनेको खड्का पक्षले छुट्टै सम्पर्क कार्यालय खोलेपछि कांग्रेसमा जारी आन्तरिक विवादले नयाँ मोड लिएको छ ।
पार्टीको १४औँ महाधिवेशनमा देउवा प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका नेताहरू गुरु बराल, जीतजंग बस्नेत, कुन्दनराज काफ्ले, गण्डकी प्रदेशका अर्थमन्त्री एवं बागलुङका जिल्ला सभापति जीत शेरचन, कोसीका पूर्व–मुख्यमन्त्री केदार कार्कीलगायत नेताहरूको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ । सम्पर्क कार्यालयमा पार्टीको चारतारे झण्डासँगै नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर लहरै झुण्ड्याइएको छ । असन्तुष्ट पक्षको पछिल्लो कदमले विगत चार महिनादेखि जारी कांग्रेसको आन्तरिक विवाद तत्काल थामिने सम्भावना कमजोर बन्दै गएको छ ।
संस्थापन पक्षसँग असन्तुष्ट समूहले छुट्टै सम्पर्क कार्यालय खोलेरै समानान्तर गतिविधिको तयारी गरेको छ ।
असन्तुष्ट समूहका नेताहरूले पार्टी एकताका लागि नेतृत्वमाथि दबाब सिर्जना गर्न सम्पर्क कार्यालय खालेको दाबी गरेका छन् । तर, राजनीतिक वृत्तका जानकारहरूले भने निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहनु भएका तत्कालीन उपसभापति खड्का पक्षको पछिल्लो कदमलाई पार्टी विभाजनको पूर्वाभ्यासको रूपमा विश्लेषण गर्न थालेका छन् । तर, देउवा पक्षीय नेता गुरु बरालले पार्टी एकताका लागि नेतृत्वमाथि दबाब सिर्जना गर्न र आसन्न १५औँ महाधिवेशनको तयारी गर्न सम्पर्क कार्यालय खोलेको दाबी गर्नुभएको छ । असन्तुष्ट पक्षका नेताहरूले समूहमा रहेका शीर्ष नेताहरू पनि छुट्टै सम्पर्क कार्यालय स्थापनाको तयारीमा रहेको दाबी गरेका छन् ।
पार्टीले हाल केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेका छ । संस्थापन पक्षले २६ वैशाखमा सुदूरपश्चिम प्रदेशको धनगढीबाट प्रदेशस्तरीय भेला सुरु गरेको थियो । असन्तुष्ट समूह पनि आन्तरिक रणनीति तय गर्न प्रदेश भेलाहरूलाई तीव्रता दिएको छ । देउवा समूहको नेतृत्व गरिरहेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले आन्तरिक रणनीति बनाउन सातवटै प्रदेशमा प्रदेशस्तरीय भेलाहरू भइरहेको जनाएको छ । उक्त समूहले अहिलेसम्म बागमती र कर्णाली प्रदेशमा भेलाहरू सम्पन्न गरिसकेको छ । उक्त समूहले ९ जेठमा गण्डकी र १० जेठमा सुदूरपश्चिम प्रदेशस्तरीय भेलाको तयारी गरेको छ । असन्तुष्ट समूहले कोसी प्रदेशबाट २९ वैशाखमा प्रदेशस्तरीय भेला सुरु गरेको थियो । खड्का समूहले सातै प्रदेशमा भेलाहरू सम्पन्न भइसकेपछि राष्ट्रिय भेला बोलाउने आन्तरिक तयारी गरेको छ ।
कांग्रेसमा विशेष महाधिवेशनबाट आएको नेतृत्व र बाहिरिएको नेतृत्वबीचको मतभेद पछिल्लो समय शक्ति संघर्षमा रूपान्तरण भएको छ । नेताहरूले पार्टीभित्र एकताको सन्देश दिएको दाबी गरे पनि शीर्ष नेतृत्वबीच दूरी घट्नुको सट्टा झन् बढ्दै गएको छ । दुवै पक्षले सार्वजनिक रूपमा पार्टी एकताको कुरा गरिरहे पनि औपचारिक पहल हुन सकेको छैन । तर, असन्तुष्ट समूहका अधिकांश नेता तथा कार्यकर्ताहरू भने विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापालाई नै मानेर अगाडि बढ्नुपर्ने पक्षमा छन् ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया