जेठ ५, २०८३ मंगलबार May 19, 2026

विद्यालाई एमालेमा ‘सकसपूर्ण’ स्वागत

२१ फागुनको निर्वाचनबाट एमाले कमजोर भएको अवस्थामा ओली भण्डारीको सदस्यता नवीकरण गर्न तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले ‘होल्ड’ भएको भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो । योसँगै भण्डारीका लागि पार्टीमा सक्रिय हुने ढोका खुलेको छ ।

एमालेमा सदस्यता नवीकरणका लागि भण्डारीले सकसपूर्ण संघर्ष गर्नुपर्‍यो । गत वर्ष भएको ११औं महाधिवेशनमा भण्डारीले पार्टी अध्यक्षको आकांक्षा देखाएकी थिइन् । तर एमाले अध्यक्ष ओलीले उनको नवीकरण भइसकेको सदस्यता खोसेका थिए । त्यसपछि उनी पार्टी राजनीतिमा सक्रिय हुन पाएकी थिइनन् ।

पूर्वराष्ट्रपतिको सुविधा त्यागेर एमालेको सक्रिय राजनीतिमा फर्किन चाहेकी भण्डारीको चाहना त्यसबेला रोकिएको थियो । जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार ढल्यो । २१ फागुनको निर्वाचनबाट एमाले कमजोर भएको अवस्थामा ओली भण्डारीको सदस्यता नवीकरण गर्न तयार भएका हुन् ।

बैठकको उद्घाटन मन्तव्य टुंग्याउँदै ओलीले भण्डारीको निवेदन खल्तीबाट निकालेर भनेका थिए, ‘सदस्यता नवीकरणको माग गर्नुभएको छ, प्रक्रिया पुग्यो, अब गरौं ।’

फेरि पनि भण्डारीको यात्रा सहज नै हुन्छ वा ओलीको चाहनामा अगाडि बढ्छ भन्ने ग्यारेन्टी नरहेको नेताहरू बताउँछन् । यसमा उनीहरू ओलीले विगतमा विद्यालाई रोकेको, आलोचना गरेको, सदस्यता होल्ड गराएको र अहिले फेरि उनैलाई अघि सार्दै गरेको पृष्ठभूमि देखाउँछन् । यसले पार्टीभित्र संस्थागत प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित शक्ति बलियो रहेको समेत देखाउँछ ।

एमालेमा पुस्तान्तरण, वैचारिक पुनर्गठन वा युवा नेतृत्वको माग भए पनि नेतृत्व तह त्यसतर्फ गम्भीर देखिँदैन । यसको उदाहरण पनि यही हो ।

अर्कोतर्फ पूर्वराष्ट्रपति सक्रिय पार्टी राजनीतिमा फर्किनु लोकतान्त्रिक संस्कृतिको दृष्टिले प्रश्न योग्य छँदै छ । फेरि पनि प्रश्न छन्, विद्या भण्डारीको पुनरागमनले लोकतान्त्रिक मर्यादामा कस्तो असर पार्छ ? नेतृत्वमा नयाँ पुस्ता उकासिने सम्भावना कसरी अवरुद्ध भइरहेको छ ?’

भण्डारीको पार्टीप्रतिको सक्रियतालाई लिएर कतिपयले कम्युनिस्ट एकतासँग समेत जोडेर हेर्ने गरेका छन् । उनलाई साझा व्यक्तिको रूपमा कम्युनिस्ट एकता गर्न सहज हुने उनीहरूको तर्क छ ।

उनी नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपति हुन् । उनले दुई कार्यकाल गरेर आठ वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालिन् ।

उनी एमालेमा उपाध्यक्षसम्म भएकी नेतृ हुन् । राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष थिइन् । उनी दिवंगत कम्युनिस्ट नेता मदन भण्डारीकी पत्नी पनि हुन् । मदन भण्डारीको २०५० सालमा भएको रहस्यमय जिप दुर्घटनापछि उनी सक्रिय राजनीतिमा अगाडि आएकी थिइन् ।

एमालेको केन्द्रीय राजनीतिमा लामो समय सक्रिय रहेकी उनीसँग  रक्षामन्त्री बनेर काम गरेको अनुभव पनि छ । संविधानसभामा पनि सक्रिय भूमिका खेलेकी थिइन् । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया