श्रावण २३, २०८३ शनिबार August 8, 2026

माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

मातृभाषा शिक्षा लागु नभएका अन्य विद्यालयमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माङसेबुङ’ अध्यापन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम, २३ साउनः जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।

गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीनवटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीनवटा विद्यालयमा लिम्बू भाषा पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागु गरेको हो ।

यसअघि चारवटा विद्यालयमा लिम्बू र एउटा विद्यालयमा वान्तवा भाषा अध्यापन हुँदै आएको थियो ।

शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार माङसेबुङ–२ स्थित सरस्वती आधारभूत विद्यालय, माङसेबुङ–४ स्थित जनता आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषा पाठ्यपुस्तक लागु गरिएको हो । यसअघि माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा मात्र वान्तवा भाषा पठनपाठन हुँदै आएको थियो ।

यसैगरी, माङसेबुङ–१ स्थित गजुरमुखी आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय तथा माङसेबुङ–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा यस वर्षदेखि लिम्बू भाषा पाठ्यपुस्तक लागु गरिएको छ ।

यसअघि माङसेबुङ–३ स्थित पवित्रा आधारभूत विद्यालय तथा माङसेबुङ–५ स्थित साम्जिक मुन्धुम आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पढाइ हुँदै आएको थियो ।

मातृभाषा लागु भएका विद्यालयमा गाउँपालिकाले आन्तरिक स्रोतबाट तलबभत्ता उपलब्ध गराउने गरी शिक्षक दरबन्दी सिर्जना गरेर शिक्षकको व्यवस्था गरेको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था सञ्चालनको अधिकार संविधानले दिएको सम्झाउँदै सोहीअनुसार मातृभाषा शिक्षालाई प्राथमिकता दिइएको बताउनुभयो ।

“हामीले नयाँ शैक्षिक संस्था त खोलेनौँ, सामुदायिक बाहुल्य भएको विद्यालयमा मातृभाषा शिक्षकको दरबन्दी सिर्जना गरी मातृभाषा पाठ्यपुस्तक लागु गरेर पठनपाठन गराएका हौँ,” अध्यक्ष राईले भन्नुभयो ।

मातृभाषा शिक्षा लागु नभएका अन्य विद्यालयमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माङसेबुङ’ अध्यापन हुँदै आएको छ ।

माङसेबुङ गाउँपालिकाले गत जेठ १२ गतेदेखि गाउँपालिकाभर लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरी लागु गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार
रास्वपा सांसदकै घेराबन्दीमा सरकार
२०८३ श्रावण २३, शनिबार
आफ्नै सांसदको आलोचनाप्रति बालेन असन्तुष्ट, ‘एक्लै लड्नुपर्ने अवस्था आयो’
२०८३ श्रावण २३, शनिबार