काठमाडौं : नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो गृहजिल्ला सुर्खेत पुुगेर कांग्रेस फुटको डिलमा पुगेको दाबी गरे । कर्णाली प्रदेश कार्यसमितिले शनिबार आयोजना गरेको ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा खड्काले पार्टी फुट्ने दाबी गरिरहँदा उनीनिकटका केही नेताहरूले त्यसमा समर्थन जनाए ।
‘पार्टी विभाजनको डिलमा छ, पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुईजनाको हातमा छ,’ खड्काले भने, ‘मैले गगन थापा सिंगो कांग्रेसको नेता बन्न सक्नुपर्छ ।’ उनको यो अभिव्यक्तिले कांग्रेस फुटको सँघारमै पुगेको संकेत गरेको हो । यसअघि काठमाडौंमा पटकपटक भएका छलफलमा खड्का समूहका कतिपय नेताहरूले नयाँ पार्टी बनाएर जानुपर्ने सुझाव राखेका थिए । नेता विमलेन्द्र निधिले भने अर्को दल खोल्नेभन्दा पनि अर्को सम्पर्क कार्यालय खोलेर समूहगत कामलाई व्यवस्थित गर्ने प्रतिक्रिया दिएका छन् । ‘पार्टी खोल्ने हैन सम्पर्क कार्यालय खोल्ने भनेका हौं,’ उनले भने ।
खड्का आफैं भने पार्टी दर्ता गरेर जाने हिम्मत गर्न सकेका छैनन् । उनले विशेष महाधिवेशनकै कारण पार्टी कमजोर बनेको दाबी दोहोर्याउँदै आएका छन् ।
प्रतिनिधिसभामा कांग्रेस ३८ सिटमा खुम्चिएपछि सोही विषयलाई कांग्रेसइतर पक्षले बलियो एजेन्डा बनाएका छन् । ‘विशेष महाधिवेशनकै प्रभावका कारण प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस खुम्चिन पुगेको छ,’ खड्काले भने, ‘विशेष महाधिवेशनका कारण कांग्रेस ३८ सिटमा खुम्चियो । कांग्रेसको यस्तो अवस्था नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।’
पूर्वकेन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पनि पार्टी फुट्ने भएको भए यसअघि नै फुटिसक्ने अब त्यो सम्भावना टरेको बताए । वर्तमान सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नै फुटाउन चाहे भने कांग्रेस सिंगो नरहने उनले जिकिर गरे । कृष्ण सिटौलानिकट मानिने काफ्लेले गत निर्वाचनमा संघीय सांसदको टिकट लिन चाहेका थिए । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर निर्वाचनको तयारीमा लागेका काफ्लेलाई पार्टीले टिकट नदिएपछि उनी रुष्ट छन् ।
चुनाव लड्ने इच्छा गरेर टिकट नपाएका मात्र होइन, टिकट पाएर पराजित भएकाहरू पनि अहिलेको नेतृत्वविरुद्ध खनिएका छन् । सभापति गगन थापाको हस्ताक्षर भएको टिकट लिएर चुनावमा गएका संस्थापनइतर समूहका केही नेता नेतृत्वविरुद्धको अभियानमा सक्रिय भएपछि पार्टीले कारबाहीको चेतावनीसमेत दिँदै आएको छ । कांग्रेसले यसअघि नै पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो । त्यस्तै, रामेछापका सभापति एवं पूर्वसांसद कान्छाराम तामाङलाई पार्टीको विधानअनुसार साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
पूर्वकार्यवाहक सभापति खड्काको नेतृत्वमा चलाइएको समानान्तर अभियानलाई पूर्वउपसभापतिहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र शशांक कोइराला, पूर्वप्रवक्ता डा.प्रकाशशरण महत, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताले साथ दिएका छन् । उक्त अभियानमा दर्जनभन्दा बढी पूर्वकेन्द्रीय सदस्यहरू सक्रिय छन् । केही नेता भने अझै कता लाग्ने भन्ने दोधारमै छन् । १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा.शेखर कोइराला र उनीनिकटका नेताहरूले वर्तमान नेतृत्वलाई सहज स्वीकार नगरे पनि कित्ताकाट गरेर समानान्तर गतिविधिलाई सशक्त बनाउन सकेका छैनन् । नेता कोइराला पूर्णबहादुरले बोलाएका केही बैठकमा गए पनि पछिल्लो समय त्यस्ता बैठकमा सक्रिय छैनन् ।
नेता शेखर कोइराला, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, मीनेन्द्र रिजाल, प्रकाशशरण महत, नैनसिंह महर, विजयकुमार गच्छदारसहितका नेता टिकट लगेर पराजित भएका हुन् । उनीहरू अहिले सभापतिसँग असन्तुष्ट छन् । नेता पूर्णबहादुरले आफैं टिकट नलिए पनि भाइ विष्णु खड्कालाई टिकट दिलाए । खड्काले चुनाव पनि जिते ।
सभापतिमा गगन थापालाई स्विकार्दै उनकै हस्ताक्षरमा टिकट लिएर प्रतिनिधिसभामा उम्मेदवार बन्ने तर हारेपछि समानान्तर गतिविधिमा केन्द्रीत भएको कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले टिप्पणी गरे । ‘विशेष महाधिवेशनलाई अस्वीकार गरेका नेताहरूले टिकट स्वीकार गरेर चुनाव लडे, चुनावबाट फर्किएपछि फेरि नेतृत्व स्वीकार्य छैन भन्नु कत्तिको राजनीतिक चरित्र हो ?’ उनले प्रश्न गरे । पार्टीलाई विधि र थितिमा लैजान नसकेका हिजोका नेताहरूलाई अझै लयमा फर्कन गाह्रो भएको उनले बताए । ‘कांग्रेसलाई उहाँहरूले हिजो विधिभन्दा व्यक्तिकेन्द्रित गरेर चलाउनुभएको थियो,’ उनले मध्यान्हसँग भने, ‘अब कांग्रेस विधि र विधानमा चलाउने लयमा आएको छ, हामी सबैलाई समेटेर पार्टी बलियो बनाउने प्रयत्न गरिरहेकै छौं ।’
सभापति थापाले केही दिन अघि मात्रै पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला निकटका १९ जना नेताहरूलाई पार्टीको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । संस्थापनले यसलाई पार्टीमा एकताको सन्देश दिने प्रयास गरेपनि पूर्णबहादुर समूहले शीर्ष नेताहरूलाई नसोधी केन्द्रीय सदस्य बनाएको भन्दै असन्तुुष्टि जनाएका छन् । तर, मनोनीत केन्द्रीय सदस्यले भने पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताएका छन् । मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया