जेठ ८, २०८३ शुक्रबार May 22, 2026

नेपाल प्रहरी श्रीमती संघ र सिबीएम कलेज बिच छात्रवृत्ति सम्झौता

प्रहरी परिवारका विद्यार्थीलाई पूर्ण/आंशिक छात्रवृत्ति दिने सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ ०८ गते । नेपाल प्रहरी श्रीमती संघ र सीबीएम-कलेज अफ बिजनेस म्यानेजमेन्टबीच आपसी सहकार्य, शैक्षिक पहुँच विस्तार तथा क्षमता विकासका कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। उक्त कार्यक्रम बिहीबार सम्पन्न भएको हो।

सम्झौतापत्रमा नेपाल प्रहरी श्रीमती संघका तर्फबाट अध्यक्ष नविना खत्री कार्की तथा सीबीएम-कलेज अफ बिजनेस म्यानेजमेन्टका तर्फबाट अध्यक्ष लेखनाथ कोइरालाले हस्ताक्षर गर्नुभएको थियो।

सम्झौताअनुसार नेपाल प्रहरीमा कार्यरत तथा अवकाशप्राप्त प्रहरी कर्मचारीका परिवार, साथै अमर तथा अशक्त प्रहरी परिवारका सदस्यहरूलाई लक्षित गरी गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गरिनेछ। विशेषगरी विज्ञान, कानून तथा व्यवस्थापन संकायअन्तर्गत +2, BBS/BBS+, BBM र MBS तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई पूर्ण तथा आंशिक छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको जनाइएको छ।

यसका साथै विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकासका लागि विभिन्न क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि दुई संस्थाबीच सहकार्य गर्ने समझदारी भएको छ।

कार्यक्रममा सीबीएम-कलेजका पदाधिकारीहरू, नेपाल प्रहरी श्रीमती संघका महासचिव, कार्यक्रम सचिव, कोषाध्यक्ष लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै प्रहरी कर्मचारीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले शिक्षा सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रहरी परिवारका सदस्यहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन यस्तो सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए। उनीहरूले भविष्यमा समेत यस्ता सहकार्यलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया