जेठ १६, २०८३ शनिबार May 30, 2026

सामुदायिक विद्यालयका शिक्षकलाई ‘आइटी’ तालिम

सिकेका सीपहरू विद्यालयमा लागू गरी कक्षाकोठालाई थप आकर्षक र प्रभावकारी बनाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर, १६ जेठः जिल्लाको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत आइटी (सूचना प्रविधि) शिक्षकका लागि पाँच दिने ‘सूचना प्रविधि’सम्बन्धी तालिम सञ्चालन गरिएको छ । शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रविधिमैत्री तथा गुणस्तरीय बनाउने उद्देश्यसहित गाउँपालिकाको पहलमा तालिम आयोजना गरिएको हो ।

तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका आइटी शिक्षकको सहभागिता छ । सहभागीलाई कम्प्युटरको प्रभावकारी प्रयोग, शैक्षिक डिजिटल सामग्री निर्माण, मल्टिमिडिया प्रस्तुतीकरण, अनलाइन कक्षा सञ्चालन, ई-लर्निङ (ई-सिकाइ) माध्यमको उपयोग, इन्टरनेट सुरक्षालगायत विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

विद्यालयमा उपलब्ध प्रविधिको अधिकतम प्रयोग कसरी गर्ने भन्नेबारे पनि प्रशिक्षकले सहजीकरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । तालिम अवधिभर शिक्षकले विभिन्न प्रायोगात्मक अभ्यासमार्फत सिकाइलाई थप सुदृढ बनाएका उहाँको भनाइ छ । डिजिटल बोर्ड, प्रोजेक्टर, भिडियो सामग्री निर्माण तथा प्रस्तुतीकरणका सीप विकासमा केन्द्रित अभ्यासले उनीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने प्रशिक्षकले बताएका छन् ।

पौवादुङमा गाउँपालिकाका अध्यक्ष राईले अहिलेको युगमा प्रविधिबिना शिक्षा प्रणाली पूर्ण नहुने बताउँदै यस्ता तालिमले शिक्षकलाई समयानुकूल दक्ष बनाउने विश्वास व्यक्त गर्नुभयो । “शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउन सूचना प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ”, उहाँले भन्नुभयो, “यस्ता तालिमले शिक्षकको सीप विकास गरी विद्यार्थीको सिकाइ उपलब्धि पनि सुधार गर्न मद्दत पुर्‍याउँछ ।”

गाउँपालिकाले आगामी दिनमा विद्यालयहरूमा प्रविधि पहुँच विस्तार गर्ने, आवश्यक उपकरण उपलब्ध गराउने तथा शिक्षकको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ । यसले दीर्घकालीन रूपमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो ।

तालिममा सहभागी शिक्षकले सिकेका सीपहरू विद्यालयमा लागू गरी कक्षाकोठालाई थप आकर्षक र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । सहभागीहरूले डिजिटल माध्यममार्फत विद्यार्थीको सिकाइ रुचि बढाउने र प्रविधिको प्रयोगमार्फत नयाँनयाँ शिक्षण विधि अपनाउने बताएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य
२०८३ जेठ १६, शनिबार
आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री हुनेछ : मुख्यमन्त्री बानियाँ
२०८३ जेठ १६, शनिबार
एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने
२०८३ जेठ १६, शनिबार
मुक्तिनाथमा दर्शनार्थी खचाखच
२०८३ जेठ १६, शनिबार
‘नेपाल-भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार आवश्यक छ’
२०८३ जेठ १६, शनिबार
इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन
२०८३ जेठ १६, शनिबार
अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच सुरक्षा विषयमा छलफल
२०८३ जेठ १६, शनिबार