जेठ २१, २०८३ बिहिबार June 4, 2026

स्वास्थ्यमन्त्री मेहताद्वारा बिमाका विषयमा अस्पतालका प्रमुखसँग छलफल

छलफलमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल लगायत प्रमुखहरू सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० जेठः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमा देखिएका समस्या समाधान गर्नका लागि छलफल गर्नुभएको छ । मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्ड र उपत्यकाका सरकारी अस्पतालका प्रमुखसँग आज मन्त्रालयमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा विद्यमान असहजता र सुधारका बारेमा छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रम गरिबी जनताको स्वास्थ्यसँग जोडिएकाले सुधार गरेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बिमा बन्द गरिएका अस्पतलाका स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो । “स्वास्थ्य बिमा कार्यक्रम जनताको कार्यक्रम हो । यसलाई अस्पतालले नियमित गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमाको विकल्प छैन । त्यसैले बन्द गरिएका अस्पतालले चाडै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नुहोस् ।”

मन्त्री मेहताले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य उपचार सुविधा थैलीमा गरेको परिवर्तनका सम्बन्धमा थप छलफल गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । केही दिन अघि मात्र बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैलीको दररेट परिमार्जन गरेको थियो ।

छलफलमा स्वास्थ्य सचिव डा विकास देवकोटाले स्वास्थ्य बिमा सहज बनाउने मन्त्रालयले नीतिगत छलफल गरिरहेको बताउनुयो । उहाँले हालै गरिएको सुविधा थैलीको दररेटका सम्बन्धमा केकसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक सकुन्तला प्रजापतिले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ मा कुनकुन परीक्षणको दररेट कम भएका छन् र ती दररेटका सम्बन्धमा अस्पतालसँग छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभयो । छलफलमा अस्पताल प्रमुखहरूले हालै बोर्ड परिमार्जन गरेको सुविधा थैली परिमार्जन गर्नुपर्ने माग राख्नुभएको थियो ।

उहाँहरूले स्वास्थ्य बिमा बोर्डबाट प्राप्त हुनुपर्ने रकम लामो समयदेखि बक्यौता रहँदा सेवा सञ्चालनमै समस्या भएको बताउनुभएको थियो । छलफलमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, कान्ति अस्पताल लगायत प्रमुखहरू सहभागी हुनुहुन्थ्यो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया