जेठ २८, २०८३ बिहिबार June 11, 2026

उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको शिष्टाचार भेटवार्ता

राष्ट्रिय एकता र संघीयता कार्यान्वयनबारे उपराष्ट्रपति र प्रदेश प्रमुखबीच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ बीच बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन, प्रदेश–संघीय समन्वय तथा आपसी सहकार्यका विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।

भेटवार्तामा उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत र सफल बनाउन संघ र प्रदेशबीचको सहकार्य तथा समन्वय अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले संविधानले परिकल्पना गरेको संघीयताको मर्मअनुसार तीन तहका सरकारबीच आपसी विश्वास, सहकार्य र समन्वय कायम रहनुपर्ने बताउँदै प्रदेशहरूले विकास, सुशासन र सेवा प्रवाहमा अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस अवसरमा प्रदेश प्रमुख खापुङले कोशी प्रदेशमा संघीयता कार्यान्वयनका लागि भइरहेका प्रयासबारे जानकारी गराउँदै संविधानको भावना अनुरूप प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले राष्ट्रिय एकता, समावेशिता, लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको संरक्षणलाई केन्द्रमा राखेर प्रदेशस्तरबाट आवश्यक सहकार्य र समन्वयलाई निरन्तरता दिइने विश्वास व्यक्त गर्नुभयो। भेटवार्तामा संघीय प्रणालीलाई थप सुदृढ बनाउने तथा प्रदेश र संघबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया