काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उनले सरकारसँग उपलब्ध स्रोतसाधनसँगै दातृ निकायबाट प्राप्त सहयोगलाई समेत पुनःस्थापना कार्यमा प्रभावकारी रूपमा परिचालन गरिने बताए।
बाढीपछि संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय गरी उद्धार तथा व्यवस्थापनको काम अघि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले प्रभावित क्षेत्रका जनप्रतिनिधि र स्थानीयवासीको मनोबल बढाउन सहयोग पुगेको बताए। प्रभावित क्षेत्रमा सडक सञ्जाल यथाशीघ्र पुनः सञ्चालन गर्न सरकारले निरन्तर काम गरिरहेको उनको भनाइ थियो।
नदी तटीय क्षेत्रमा रहेका बस्ती भविष्यमा पनि जोखिममा पर्नसक्ने भएकाले त्यही स्थानमा पुनः बस्ती बसाउन उपयुक्त नहुने प्रधानमन्त्री शाहले स्पष्ट पारे। सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति तथा खेतीयोग्य जमिनको संरक्षणलाई समेत ध्यान दिएर वैज्ञानिक ढंगले बस्ती व्यवस्थापन गर्नुपर्ने बताए।
सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न उनले स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे। प्रभावित क्षेत्रको वास्तविक अवस्था र पुनःस्थापनाका प्राथमिकता बुझ्न छलफल महत्वपूर्ण भएको प्रधानमन्त्री शाहले बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया