काठमाडौं । त्रिवि लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको आठौं वार्षिक साधारण सभा विभिन्न महत्वपूर्ण निर्णय तथा प्रतिबद्धतासहित सम्पन्न भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा रक्तसञ्चार सेवाको विस्तार, आर्थिक सुदृढीकरण तथा संस्थागत सुधारका विषयमा व्यापक छलफल भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री थापाले रक्तसञ्चार सेवा मानव जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यसको दिगो सञ्चालनका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए। उनले रक्त अभाव न्यूनीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै रक्तसञ्चार केन्द्रलाई आवश्यक पर्ने रक्त ब्याग प्रदेश सरकारमार्फत खरिद गरिदिने घोषणा गरे।
साधारण सभामा लायन्स इन्टरनेसनलका पाष्ट इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, आईडी इन्डोर्सी राजन लम्साल तथा ग्याट एरिया लिडर शम्भु घिमिरे विशेष अतिथिका रूपमा सहभागी थिए। बोल्ने वक्ताहरूले रक्तदान र रक्तसञ्चार सेवामा लायन्सको योगदान उल्लेख गर्दै केन्द्रलाई अझ सशक्त बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
केन्द्रका अध्यक्ष डा. राजेन्द्र गिरी ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै केन्द्रले निरन्तर सेवा प्रदान गरिरहे पनि आर्थिक चुनौतीका कारण सञ्चालनमा कठिनाइ भोगिरहेको जानकारी दिए। उनले घाटामा सञ्चालन भइरहेको संस्थालाई आत्मनिर्भर बनाउन सरकार, लायन्स क्लब तथा सामाजिक क्षेत्रबाट थप सहयोग आवश्यक रहेको बताए।
साधारण सभामा महासचिव अजय प्रसाद खनालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष ध्रुव बहादुर थापा ले आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सभाले आवश्यक सुझावसहित अनुमोदन गरेको थियो।
साधारण सभाले संस्थाको विधान संशोधनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पनि पारित गरेको छ। संशोधित व्यवस्थाअनुसार न्यूनतम पाँच हजार रुपैयाँ शुल्क बुझाउने व्यक्तिले केन्द्रको साधारण सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। साथै संस्थाको कार्यसमितिलाई थप चुस्त, प्रभावकारी र व्यवस्थापनमैत्री बनाउन कार्यसमिति सदस्य संख्या घटाउने प्रस्तावसमेत सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।
रक्तसञ्चार तथा अनुसन्धान सेवामार्फत हजारौं बिरामीको जीवनरक्षामा योगदान पुर्याउँदै आएको केन्द्रले आगामी दिनमा सेवा विस्तार, आधुनिक उपकरण व्यवस्थापन तथा अनुसन्धान गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साधारण सभाले केन्द्रको दीर्घकालीन स्थायित्वका लागि सरकारी निकाय, लायन्स नेतृत्व तथा सामाजिक क्षेत्रबीच थप समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्षसमेत निकालेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया