असार ६, २०८३ शनिबार June 20, 2026

नेशनल मोडल सेकेन्डरी स्कुलका प्रिन्सिपल मृत भेटिए

काठमाडौँ प्याब्सनका कोषाध्यक्ष मृत फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय कोषाध्यक्ष तथा नेशनल मोडल सेकेन्डरी स्कुलका प्रिन्सिपल दिननाथ अधिकारी मृत अवस्थामा फेला परेका छन्।

४५ वर्षीय अधिकारी तार्केश्वर नगरपालिका–८ स्थित शेषमति भेटघाट चोकमा रहेको आफ्नै निवासमा शुक्रबार दिउँसो मृत भेटिएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अधिकारी घरभित्रको एक कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार शुक्रबार करिब साढे १ बजेतिर अधिकारीकी आमाले घरभित्र दुईवटा दराजको बीचमा पर्दा झुण्ड्याउन प्रयोग हुने डण्डीमा झुण्डिएको अवस्थामा उनलाई देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनापछि अधिकारीको शव परीक्षण (पोस्टमार्टम)का लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।

अधिकारी काठमाडौँ महानगरपालिका–१६, बालाजुस्थित नेशनल मोडल सेकेन्डरी स्कुलका प्रिन्सिपल समेत रहेका थिए। उनी शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए भने प्याब्सनको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए।

घटनाको कारण खुल्न बाँकी रहेको र मृत्युको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया