असार १५, २०८३ सोमबार June 29, 2026

सत्ता र शक्ति हुँदा विभाजन, पराजयपछि एकताको रटान

दुईतिहाइ जनमत पाउँदा पनि टिकाउन नसकेका कम्युनिष्ट नेताहरू सत्ता र शक्ति गुमेपछि फेरि एकताको रटान लगाउन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चुनावी नतिजाले कमजोर बनाएपछि फेरि नेपालका कम्युनिष्टहरू फेरि वाम एकताको पुरानै बहसमा फर्किएका छन् । विगतमा दुईतिहाइ जनमत पाउँदा पनि टिकाउन नसकेका कम्युनिष्ट नेताहरू सत्ता र शक्ति गुमेपछि फेरि एकताको रटान लगाउन थालेका हुन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालले एउटै मञ्चमा उभिएर वाम एकताको आवश्यकता औँल्याएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समेत कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन र जनविश्वास पुनः जित्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मञ्चमा उभिएका सबै नेताहरूको साझा निष्कर्ष थियो- अब वामपन्थीहरू विभाजित भएर होइन, एकताबद्ध भएर अघि बढ्नुपर्छ । नेता खनालले समयले हिर्काएपछि एकताको आवश्यकता महसुस भएको बताउनुभयो । नेता नेपालले कम्युनिष्ट आन्दोलनले आफ्ना कमजोरीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । प्रचण्डले वाम एकता ढिला गरे दुर्घटना हुनसक्ने चेतावनी दिँदा ओलीले ‘प्रतिगमन’ पराजित गर्न सबै वाम र लोकतान्त्रिक शक्तिको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उनीहरूले एउटै मञ्चमा उभिएर एकताको कुरा गरे पनि राजनीतिक वृत्तमा भने यसलाई चुनावी पराजयसँग जोडेर हेरिएको छ ।

लामो समय प्रभावशाली रहेका एमाले र नेकपा गत निर्वाचनमा उल्लेखनीय रूपमा कमजोर बनेका छन् । अहिले प्रतिनिधिसभामा एमालेसँग २५ र माओवादी केन्द्रसँग १७ सिट मात्र छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुईतिहाइ बहुमत हासिल गर्दै सत्ता सम्हालेपछि परम्परागत वाम शक्तिहरू थप रक्षात्मक अवस्थामा पुगेका हुन् । यही कारण, सत्ता र जनमत दुवै गुमाउँदै गएपछि फेरि वाम एकताको रटान सुरु भएको विश्लेषकहरूको बुझाइ छ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा पनि संकटका बेला एकता र शक्ति प्राप्त गरेपछि पुनः विभाजन हुने चक्र दोहोरिने गरेको देखिन्छ ।

२०७४ सालको निर्वाचनपछि तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । झण्डै दुईतिहाइ जनमतसहित बनेको सरकारले राजनीतिक स्थायित्व, विकास र समृद्धिको ठूलो आशा जगाएको थियो । तर, नेतृत्वबीचको अविश्वास, शक्ति संघर्ष र व्यक्तिगत महत्त्वाकांक्षाका कारण त्यो एकता तीन वर्ष पनि टिक्न सकेन । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलासँगै नेकपा विभाजित भएको थियो ।

समयले हिर्काउन थालेको छ, अब एक बनौँ : खनाल

नेकपा नेता झलनाथ खनालले वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गर्नुभएको छ । समयले कम्युनिष्टहरूलाई हिर्काएर अहिले बाध्यात्मक परिस्थिति खडा भएको भन्दै वामपन्थी एकता अत्यन्तै आवश्यक रहेको उहाँले बताउनुभयो । वामपन्थी एकता आज मात्रै नभई सधैँ आवश्यक रहेको उहाँको भनाइ थियो । ‘कतिपयलाई आश्चर्य लागेको हुनसक्छ । वामपन्थी एकता आज मात्रै होइन, अनेकन कालखण्डबाट आवश्यक थियो’, उहाँले भन्नुभयो, ‘अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बनाउन थालौँ । तब मात्रै आज हाम्रो देशमाथि जुन साम्राज्यवादीले बबण्डर मच्चाइरहेका छन्, यसका विरुद्ध लडाइँ तब मात्रै गतिशील भएर अघि बढ्नसक्छ ।’ बीचको कालखण्डमा आफूहरूमा कहिले सिङ पलाएको र कहिले जुरो पलाएको उहाँले टिप्पणी गर्नुभयो । खनालले देशका दुई ठूला कम्युनिष्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताउनुभयो । मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु कमजोरी भएको उहाँले बताउनुभयो । ‘मदन भण्डारी र जीवराज आश्रितको हत्या षड्यन्त्रपूर्ण र कायरतापूर्वक गरिएको हो’, खनालले भन्नुभयो, ‘ती हत्यारा को हुन्, कसले गरेको थियो ? त्यो पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ ।’

राष्ट्रियतामा ठूलो चुनौती छ, सबै कम्युनिष्टले आत्मसमीक्षा गरौँ : नेपाल

नेकपा सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । तर, मदन भण्डारीले भनेजस्तै कुरा गरेर मात्रै चिउरा नभिज्ने उहाँको भनाइ थियो । ‘हामीले जनताको बदलिँदो मनोविज्ञान बुझ्न सकेनौँ, या हामीमा के-के विकृति आए ? यसको आत्मसमीक्षा गरौँ । नेपालका कम्युनिष्ट घटकको आत्ममन्थन गर्न सक्नुपर्छ । त्यो गर्न सक्यौँ भने मात्रै हामीले कम्युनिष्टहरूलाई एक बनाउन सक्छौँ’, उहाँले भन्नुभयो, ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन । कुरो मात्रै गरेर हुनेवाला केही छैन । हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ । यथार्थको धरातलमा टेकेर, सही ठाउँमा पुगेर, छलफल र बहस चलाएर मिल्नसक्ने कुरामा मिल्नुपर्छ । राष्ट्रियतामा ठूलो चुनौती छ । देशभक्त शक्तिहरूलाई पनि एकताबद्ध गर्नुपर्छ ।’

छिटो वामपन्थी एकता गर्नुपर्छ, ढिलो गर्दा दुर्घटना हुनसक्छ : प्रचण्ड

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट कम्युनिष्ट आन्दोलनको प्रभाव सिध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेको दाबी गर्नुभएको छ । छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य नगरे दुर्घटना हुनसक्ने उहाँले बताउनुभयो । गत भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको उहाँको भनाइ थियो । आफूले उठाउँदै आएको क्रमभंगको अवधारणालाई गलत ढंगले बुझ्ने गरिएको उहाँले दाबी गर्नुभयो । ‘मैले क्रमभंग भन्यो भने अब के उत्पात गर्न लाग्यो भनेर ठानिन्छ । तर, निरन्तरताभित्र क्रमभंग गर्नु प्रकृति र मानव विकासको नियम हो । क्रममै बसिराख्नुभयो भने जानुभयो । परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेपालबाट कम्युनिष्ट आन्दोलनको प्रभाव सिध्याउन दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन् । यो परिस्थितिमा हामीले ढिलो नगरी राष्ट्रिय स्वाधीनताका पक्षमा, निरकुंशताविरुद्ध छिटोभन्दा छिटो वामपन्थी एकता र सहकार्य गर्नुपर्छ । सहकार्य गर्न ढिलो गर्दा दुर्घटना हुनसक्छ । यसमा ढिला नगरौँ सबैले आ–आफ्नै ठाउँबाट वातावरण बनाउनुपर्छ ।’

सबै वामपन्थी शक्ति मिलेर प्रतिगमन पराजित गर्नैपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ पराजित गर्नुपर्ने बताउनुभएको छ । अहिले समाजवाद निर्माण गर्नेभन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको बताउनुभयो । अहिले वामपन्थीको चरित्रहत्या गर्ने काम भइरहेको उहाँको भनाइ थियो । ‘आज प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । प्रतिगमनलाई पराजित गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र पराजित गर्नैपर्छ प्रतिगमनलाई ।’ ओलीले लोकतन्त्रलाई सिध्याउने गरी २३ र २४ भदौमा प्रतिगामी षड्यन्त्र भएको बताउनुभयो । अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई नै टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षड्यन्त्र भएको उहाँको भनाइ छ ।

कम्युनिष्ट आन्दोलन अवसर र चुनौतीको संघारमा छ : भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनीतिक सिर्जनशीलता आवश्यक रहेको बताउनुभएको छ । नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्नसके मात्रै कम्युनिष्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिने उहाँले बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको उहाँको भनाइ थियो । ‘आज नेपालको कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीहरूको संघारमा उभिएको छ । जनताबाट निरन्तर विश्वास, माया र समर्थन प्राप्त गर्न सफल भएको आन्दोलनलाई अझ प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउँदै जनतासँगको सम्बन्धलाई थप सुदृढ गर्ने विषय आज गम्भीर समीक्षा र आत्ममन्थन विषय बन्न पुगेको छ’, भण्डारीले भन्नुभयो, ‘युवा पुस्ताका आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा समयानुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यावहारिक कार्यान्वयन गर्न सक्दा नै कम्युनिष्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिन्छ ।’ हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
२०८३ असार १५, सोमबार
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति
२०८३ असार १५, सोमबार
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
२०८३ असार १५, सोमबार
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
२०८३ असार १५, सोमबार
राष्ट्रियसभा बैठक बस्दै
२०८३ असार १५, सोमबार
कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की
२०८३ असार १५, सोमबार
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
२०८३ असार १५, सोमबार