असार १५, २०८३ सोमबार June 29, 2026

जनमत फर्काउने जमर्को

जेनजी आन्दोलन र गत निर्वाचनको पराजयले पार्टीभित्रै रक्षात्मक बन्न पुगेका ओलीले अहिले पूर्वराष्ट्रपति भण्डारीको साथ खोजेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गत निर्वाचनमा नमिठो धक्का व्यहोरेका वामपन्थी दलहरू अस्तित्व रक्षाका लागि नयाँ गठजोडको तयारीमा जुटेका छन् । त्यसका लागि पहिले सडक र संसद्मा सहकार्य गर्दै आउँदो चुनाव मिलेर लड्ने रोडम्याप अघि सारेका छन् । मुख्य दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले तत्कालै पार्टी एकता त भनिसकेका छैनन्, तर एक वर्षपछि हुने स्थानीय र प्रदेश तहको चुनावमा गुमेको जनमत फर्काउने इच्छा भने सार्वजनिक रूपमै प्रकट गरेका छन् ।

राष्ट्रिय सभागृहमा आइतबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चार कम्युनिस्ट पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले वामपन्थी सहकार्यलाई केन्द्रमा राखेर अन्तरक्रिया गरेका हुन् । भाषा र शैली भिन्न भए पनि उनीहरू सडक, सदन र आउँदो चुनावमा सहकार्य गर्न राजी सुनिएका हुन् ।

जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा वाम शीर्ष नेताहरूले खुलेरै वाम ध्रुवीकरणको हतारो पोखे । आपसी सहकार्यबाट एकतासम्म पुग्ने चाहना राखेका नेताहरूले वैचारिक अडान भने कायमै राखेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले वाम एकताका लागि सहकार्य गर्न अब पनि ढिलाइ गर्नु ठुलो गल्ती हुने बताए । ‘मैले आजै भोलि नै पार्टी एकता गरौं भनेको छैन । सहकार्य आजै सकिन्छ भने आजै गरौं, भरे सकिन्छ भने भरे नै र भोलि सकिन्छ भने भोलि नै गरौं भनेको हुँ,’ उनले भने, ‘राष्ट्रिय स्वाधिनताका पक्षमा, निरंकुशताका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्त एक हुनुपर्छ । यसलाई ढिला गर्न गल्ती हुन्छ ।’

प्रचण्डले संसद्, सडक र चुनावमा सहकार्य गरेर वामपन्थी एकताको वातावरण बनाउनुपर्ने बताए । ‘पार्टी एकताका लागि भने हतार गर्नुहुँदैन । हतारमा एकता गरेर फुर्सदमा रोएर बस्ने होइन,’ उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली पनि वाम, लोकतान्त्रिक एवं देशभक्त शक्तिबीच सहकार्य हुनुपर्ने बताए । ‘२३ र २४ भदौको घटना प्रतिगामी षड्यन्त्र हो । लोकतन्त्र सिध्याउने षड्यन्त्र हो,’ उनले भने, ‘अहिले समाजवाद निर्माण गर्नेभन्दा प्रतिगमनलाई परास्त गर्ने मुख्य काम हो । लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र प्रतिगमनलाई पराजित गर्नैपर्छ ।’

ओली र प्रचण्डअघि बोल्ने पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले पनि वामपन्थी सहकार्यमै जोड दिए । ‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन । कुरो मात्रै गरेर हुनेवाला केही छैन,’ नेपालले भने, ‘हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्नेछ ।’

आत्मकेन्द्रित चिन्तनलाई पराजित गर्न नसकेसम्म गफाडीको गफमात्रै हुने उल्लेख गर्दै उनले त्यो उचाइमा पुगेको कम्युनिस्ट पार्टी आज किन कमजोर भयो भनने आत्मसमीक्षा सबैले गर्नुपर्ने बताए । ‘के हुन् कारणहरू, विचार, सिद्धान्त या हाम्रो व्यक्तिवादले ? मै हुँ भन्ने प्रवृत्तिले, भ्रष्टाचार गर्ने प्रवृत्तिले वा के–के कारणले हो ?’ नेपालले प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री खनालले विगतका कमजोरी नदोहोरिनेगरी वामपन्थी एकता गर्नुको विकल्प नभएको बताए । ‘देशको अस्तित्व रक्षा, गणतन्त्र र संविधानमाथिको खतरा हटाउन वामपन्थीहरूले हात मिलाउनुको विकल्प छैन । हात मात्र होइन, मन र विचार दृष्टिकोण पनि मिलाऔं । हामीबीच भिन्नता छन् । बहस गरौं र मैत्रीपूर्ण ढंगले मिलाऔं । तत्कालै कार्यगत एकता गरेर अघि बढौं,’ उनले भने, ‘अस्तिको चुनावमै एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर गएको सय सिट आउँथ्यो । अहिलेको तानाशाही रोकिन्थ्यो ।’

आठ वर्षअघि २०७४ सालमा झन्डै दुईतिहाई बहुमत जित्दासमेत भूमिसुधारलगायत आफ्नै एजेन्डा पूरा गर्न नसकेको स्मरण गर्दै खनालले भने, ‘कहिले सिङ उम्र्रियो, कहिले जुरो पलायो । अहिले समयले हिर्काउन थालेको छ, परिस्थितिले हामीलाई मिल्नुपर्ने ठाउँमा ल्याएको छ ।’

पूर्वराष्ट्रपति भण्डारीले एक निर्वाचनको मतपरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष्कर्ष निकाल्न हतारो गर्नु नहुने बताइन् । तर, जनताले दिएको सन्देशलाई स्वीकार गर्नुपर्ने उल्लेख गर्दै भनिन्, ‘आत्मसमीक्षा र जनतासँगको जीवन्त सम्बन्धले भविष्यप्रतिको जिम्मेवारी अझ सुदृढ बनाउन सक्छ । बदलिँदो जनआकांक्षा राष्ट्रिय आवश्यकता नीति नेतृत्वमा हुनुपर्छ । विगतको उपलब्धिको स्मरण मात्रै पर्याप्त हुँदैन ।’

नेताहरूले आठ वर्षअघिको वाम धु्रवीकरणको स्मरण गरे । संघ र प्रदेशमा झन्डै दुईतिहाइ बहुमतको सरकार के कारणले ढल्यो भन्ने चर्चा भने गरेनन् । सबैभन्दा धेरै नेकपा संयोजक प्रचण्डले बारम्बार २०७४को एमाले–माओवादी केन्द्रको चुनावी गठबन्धनको स्मरण गर्दै २०७५ जेठ ३ को पार्टी एकता सम्झिए ।

विचारमा आ–आफ्नै रटान 

वाम एकता र सहकार्यका लागि तयार नेताहरूले वैचारिक अडानमा टसमस भएनन् । पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओली जबजलाई मार्गदर्शक सिद्धान्त बनाएर अघि बढ्नुपर्ने मत राखे भने नेकपा संयोजक प्रचण्ड र झलनाथ खनालको धारणा नयाँ ढंगले सोच्नुपर्छ भन्ने थियो । माधव नेपालले बीचमै रहेर धारणा राखे ।

प्रचण्डले घुमाउरो भाषामा मदन भण्डारी नै जीवित रहेको भए पनि बदलिएको परिस्थितिमा सोच्ने उल्लेख गर्दै भने, ‘मदन भण्डारी पनि गतिशील हुनुहुन्थ्यो । उहाँ जीवितै भएको भए के सोच्नुहुन्थ्यो ? क्रमभंग गरिरहनुपर्छ । एकैठाउँ घण्टी बजाएर कहीँ पुगिँदैन ।’

जवाफमा ओलीले अब पनि जबजको प्रकाशमा वामपन्थी आन्दोलन अघि बढ्ने बताएका छन् । एकताका लागि एमालेको नीति स्वीकार्नुपर्ने सन्देश दिँदै उनको जवाफ थियो, ‘हाम्रा नीतिहरू सही छन् । त्यसैले एमाले कुनै एकताको लागि नीतिबारे छलफल गर्ने पक्षमा छैन ।’

उनले गत निर्वाचनमा आफ्नो दलले धक्का खाएको भए पनि धुलो टकटक्याएर फेरि उठ्ने भन्दै कार्यकर्तालाई आश्वस्त पार्ने कोसिस गरे । ‘हामीले धक्का खाएका हौं, सकिएका होइनौं । हामी लडेका हौं, मरेका होइनौं । हामी फेरि धुलो टकटक्याउँदै उठ्छौं । तर विश्वंसबाट होइन, अग्रगामी बाटोमा हिड्छौं,’ ओलीले भने ।

गत वर्षको भदौं २३ र २४ गतेको जेनजी आन्दोलनलाई उनले लोकतन्त्रविरुद्धको षड्यन्त्रका रूपमा व्याख्या गरे । वाम तथा लोकतान्त्रिक दलहरूले देश बर्बाद पारे भन्ने गलत भाष्य बनाएर बदनाम गर्न खोजिएको उल्लेख गर्दै ओलीले भने, ‘हामीले गल्ती गरेका छैनौं । कमी भए होलान्, कमजोरी भए होलान् । त्यसको आत्मसमीक्षा गरौंला । तर, झुटा प्रचार अफवाह फैलाएर युवामा आक्रोश र घृणा पैदा गरियो । त्यसैका आधारमा वैधानिक सरकार ढालेर असंवैधानिक ढंगले संसद् विघटन र अवैध सरकार बनाइयो । अहिलेको सरकार त्यही प्रतिगमनको निरन्तरता हो ।’

वाम तथा लोकतान्त्रिक शक्तिमाथिको प्रहारलाई आफूले बेलैमा बुझे पनि अरू दलले नबुझ्दा अहिलेको स्थिति आएको ओलीको भनाइ थियो । ‘हामीले यो चुनाव रोकौं भन्दा एमालेका लागि भिर हो, हामीलाई हाइवे हो भन्ने ठाने साथीहरूले,’ उनले भने, ‘यो चुनाव वामपन्थी र लोकतान्त्रिकहरूका लागि थिएन । पहिले नै परिणाम तय थियो । अहिले पनि त्यही प्रतिगमनको सिलसिला जारी छ ।’

पूर्वराष्ट्रपति भण्डारीले शासकीय स्वरूपबारे नेकपाको विचारभन्दा भिन्न मत राखेकी छिन् । उनले नेपालका लागि प्रत्यक्ष कार्यकारीको परिकल्पना उपयुक्त नभएको उल्लेख गर्र्दै भनिन्, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशका लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ ।’

एक वर्षपछि विद्या–ओली एक ठाउँ 

एक वर्षको राजनीतिक उतारचढावपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध सुधारको संकेत देखिएको छ । गत वर्ष असार १४कै दिन एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई रोक्न अध्यक्ष ओलीले अनेक उपाय निकाले । उनको पार्टी सदस्यता होल्ड राखियो । पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा फर्किन नमिल्नेगरी केन्द्रीय कमिटीबाट निर्णय गराए । ती सबैको उद्देश्य भण्डारी ११औं महाधिवेशनमा आफूविरुद्ध प्रतिस्पर्धा नगरून् भन्ने थियो । यसबीच दुई नेताबीच आरोप–प्रत्यारोप चल्यो ।

गत मंसिरमा भएको ११औं महाधिवेशनमा ओली पार्टी अध्यक्षमा तेहेरिएपछि भण्डारी पार्टीमा फर्किने च्याप्टर क्लोजजस्तै भयो । तर, २१ फागुनको चुनावमा एमालेले शर्मनाक पराजय व्यहोरेपछि ओलीकै विश्वासपात्र उपाध्यक्ष विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल नै पार्टी पुनर्गठनको अभियान सुरु गरेपछि ओली तर्सिए । पुनर्गठन पक्षधरले पूर्वराष्ट्रपति भण्डारीलाई पनि नेता स्विकार्न तयार नभएपछि उनी गुन्डु पुगेरै सम्बन्ध सुधार गरिन् । ओलीले हतार–हतार भण्डारीको पार्टी सदस्यता नवीकरण मात्र गराएनन्, आफू हट्नु नै परे भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्ने रणनीति अघि सारे ।

जेनजी आन्दोलन र गत निर्वाचनको पराजयले पार्टीभित्रै रक्षात्मक बन्न पुगेका ओलीले अहिले पूर्वराष्ट्रपति भण्डारीको साथ खोजेका छन् । उनले पार्टीमा आफूविरुद्धको संकट टार्ने र आउँदो महाधिवेशनमा भण्डारीलाई सघाउने प्रस्ताव गरेका छन् । त्यसप्रति भण्डारी पनि सकारात्मक छिन् । नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य र एकता भए पूर्वराष्ट्रपति भण्डारीलाई संयोजक बनाउन पनि ओली तयार छन् । गत वर्ष १४ असारमै बिग्रेको उनीहरूको सम्बन्धमा एक वर्षपछि करिब–करिब पुरानै स्थितिमा फर्किएको टिप्पणी हुने गरेको छ । मध्यान्ह दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
२०८३ असार १५, सोमबार
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति
२०८३ असार १५, सोमबार
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
२०८३ असार १५, सोमबार
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
२०८३ असार १५, सोमबार
राष्ट्रियसभा बैठक बस्दै
२०८३ असार १५, सोमबार
कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ : मुख्यमन्त्री कार्की
२०८३ असार १५, सोमबार
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
२०८३ असार १५, सोमबार