असार, १७ बुधबार काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिगामी, फाँसीवादी बाटोमा जान नसक्ने बताएका छन्।
अध्यक्ष ओलीले फाँसीवादी प्रवृत्तिका विरुद्ध मिल्न सकिने सबै शक्ति मिलेर संयुक्त सङ्घर्षमा जानुपर्ने आवश्यकता रहेको र ती शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव सङ्कलन कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
‘यतिबेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो ?’ प्रश्न गर्दै अध्यक्ष ओलीले नेकपा (एमाले) देशव्यापीरुपमा फैलिएको, सुदृढ संगठन भएको, सही विचार र महान उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नुछ, एकीकरण गर्नु आवश्यक छैन।
उनले भने, ‘एमालेको नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरू लिन सक्छौं, पार्टीगत एकताको चरणमा अहिले हामी छैनौं।’
अध्यक्ष ओलीले सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरिएको स्मरण गर्दै कुनै नराम्रो काम गरेर एमाले जनतामा अलोकप्रिय भएको नभई हाम्राविरुद्ध भएको हमला र छरिएको भ्रम जनता भ्रमबाट जनता अलमलिएको बताए।
यसैकारण पार्टीले गम्भीर धक्का खाएको अहिलेको अवस्था भए पनि उठ्न नसक्ने अवस्थामा नपुगेको उनले बताए।
अध्यक्ष ओलीले भने, ‘हामी अलिकति घाइते भएका हौं, मरेका छैनौं, हामी उठ्न सक्छौं।’
‘हामीले केही विगारेका छैनौं, त्याग, तपस्या गरेका छौं, लोभपाप गरेका छैनौं, हीनताबोध गर्नुपर्ने छैन, भविष्य हाम्रै हो’, उच्च मनोबलका साथ जनतामा परेको भ्रम चिर्दै अगाडि बढ्न सम्पर्क विशेष संगठन कमिटीमा आवद्ध नेताकार्यकर्तालाई उनले आग्रह गरे।
‘गतबर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो’, तत्कालीन प्रधानमन्त्री ओलीले भने, ‘हामी हमलामा पर्यौं। सुरक्षा संयन्त्र परिचालित भएन।’
उक्त घटनामा जोडेर मानव अधिकार आयोगजस्ता निष्पक्ष न्यायिक संस्थाहरूबाट समेत आफू अत्याचारमा परेको अध्यक्ष ओलीले बताए।
‘देशको राजनीतिक, सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका असाधारण रहेको छ, अब पनि देशलाई सही बाटोमा अगाडि बढाउने छौं,’ उनले भने।
सुझाव सङ्कलन कार्यक्रममा पार्टीका उपाध्यक्ष, निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, पार्टीका नेता लालबाबु पण्डित लगायतको उपस्थिति रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया