काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भयो । मुगु जिल्लाको सोरु गाउँपालिका–१का स्थायी बासिन्दा २५ वर्षीय नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए । उनको वीर अस्पतालको ‘बर्न आइसियू’मा उपचारको क्रममा शुक्रबार दिउँसो निधन भएको हो ।
गणेशको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मण्डल काठमाडौंमा उपचाररत छन् । उनको अवस्था गम्भीर छ । यी दुई घटनाले राज्य सञ्चालकको पछिल्लो अवस्थालाई गिज्याएको छ ।
गणेश र विवेकको यो कदमले तीन वर्षअघि बानेश्वरस्थित संसद भवनअघि प्रेम आचार्यले गरेको आत्मदाहको झल्को दिएको छ । २०७९ साल माघ १० गते आचार्यले पेट्रोल छर्केर आत्मदाह गरेका थिए । संसद् भवनअगाडि आत्मदाह गरेका ३६ वर्षीय आचार्यले नेपालको आर्थिक प्रणाली, व्यापारिक सिन्डिकेट र सरकारी नीतिको विषयलाई उनले मृत्युको कारक बनाएका थिए । राज्यले भ्याट शून्य गर्नुपर्ने, उधारोमा सामान किन्न नपाउने व्यवस्था हुनुपर्ने, स्वास्थ्य र शिक्षा सहज हुनुपर्नेलगायत आधारभूत विषयमा २५ बुँदे माग राख्दै आएका आचार्यको माग राज्यले बेवास्ता गर्दा ज्यान गुमाउनुपर्यो ।
उनी दिउँसै संसद् भवनअघि जले, तर सरकारले नागरिकको समस्या बुझेर परिवर्तनको कुनै प्रयास गरेन । व्यवसाय गर्दागर्दै आफू आर्थिक रूपमा डुबेको र त्यसमा सरकारी नीतिहरू दोषी रहेको आचार्यले मृत्युपत्रमा भनेका थिए । ट्राभल एजेन्सीदेखि कृषि उद्योगसम्म चलाउने प्रयास गरेका आचार्यले ठुला व्यापारिक घरानाले उधारो सामान लगेर भुक्तानी नदिएको, राज्यले साना उद्यमीलाई संरक्षण नगरेको र बैंकको ब्याजले थिचिएको भन्दै पीडा पोखेका थिए ।
आचार्यको आत्मदाहपछि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वर्तमान प्रधानमन्त्री बालेनले लेखेका थिए, ‘यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान्, तर सबैभन्दा ठुलो कारण राज्य हो । सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।’ तर अहिले उनै बालेन प्रधानमन्त्री बने पनि युवाहरू चरम निराशामा छन् र आत्महत्याको बाटो रोज्न विवश छन् ।
आचार्यको त्रासदीपूर्ण दुःखान्त घटनालाई बिर्सिनसक्दै गणेश नेपालीको मृत्युले राज्यको चरित्रबारे नै गम्भीर प्रश्न उठाएको छ । सर्लाहीका विवेक मण्डलको भने मानसिक अवस्था केही समयदेखि सन्तुलित नरहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र पौडेलले के–कति कारणले मण्डलले यस्तो कदम चाले भन्नेबारे थप अनुसन्धान गरिरहेको बताए । एमएस्सी गरेका विवेक एक वर्षदेखि बेरोजगार बस्नुपर्दा आर्थिक अभावले केही समयदेखि समस्यामा रहेको स्थानीयले बताएका छन् । एमएस्सी गरेको प्रमाणपत्र भएर पनि कुनै कामकाज नपाएर आर्थिक भावले मानसिक तनावमा रहेको गोडैता नगरपालिका–१०का वडाध्यक्ष वैद्यनाथ मण्डलले जानकारी दिए ।
तर, गणेशको घटना काठमाडौं महानगर प्रहरीले ‘ह्विल लक’ गरेको विषयमा नेपालीसँग चर्को विवाद भएको थियो । विवादका बीच नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । उनको शरीरमा ५५ प्रतिशत जलन भएको र भित्री भागसमेत जलेकाले उनलाई बचाउन नसकिएको वीर अस्पतालले जनाएको छ । घटना घट्नुअघि गणेश नेपाली र काठमाडौं महानगरपालिकाकी महिला नगर प्रहरीबीच मोटरसाइकल पार्किङको विषयलाई लिएर भनाभन भएको थियो ।
पठाओ (राइड सेयरिङ) गर्ने पल्सर मोटरसाइकल सडकको साइटमा रोकेर यात्रुको प्रतीक्षा केही क्षण रोकिएका गणेशको जीवन गुजारा गर्ने मोटरसाइकलमा नगर प्रहरीले लक लगाइदिएपछि उनी गलत बाटो रोज्न बाध्य भए । नगर प्रहरीले उनलाई नियम मिचेको भन्दै हप्काइरहँदा गणेशले अरूको मोटरसाइकलमा लक नलगाएर आफ्नोमा मात्रै किन लगाएको भन्दै प्रतिवाद गरेका थिए । त्यही रुखो व्यवहार र गरिखाने बाटो थुनिएको झोँकमा आवेशमा आएका गणेशले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकाले, शरीरमा छर्किए र आगो सल्काए । नेपालीले जरिवानाभन्दा आत्महत्या रोज्न बाध्य भए । उनले गत असार १३ गते पनि महानगर प्रहरीले जरिवाना गरेको प्रमाण सार्वजनिक गर्दै आफ्नो जीवन समाप्त गरे । मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया