श्रावण ३, २०८३ आइतबार July 19, 2026

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र उपकरणका लागि सक्दो प्रयास गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, २ साउनः विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

“चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घबाट रु चार करोड विनियोजन भएको छ, एक वर्ष भित्रमा समस्या समाधान हुनेमा विश्वस्त छु,” उहाँले भन्नुभयो ।

करिब ३० वर्षदेखि उक्त स्थानमा पहिरोको समस्या छ । सडक माथिबाट खसेको पहिरोका कारण वर्षायाममा सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकावासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

आजै मन्त्री पुनले प्रदेश अस्पतालको निर्माणाधीन भवनबारे जानकारी लिनुभएको छ । उहाँले अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र उपकरणका लागि सक्दो प्रयास गर्ने बताउनुभयो ।

साथै मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बैसरी पहिरो रोकथाममा भएका प्रयासबारे पनि जानकारी दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया