श्रावण ६, २०८३ बुधबार July 22, 2026

एमालेद्वारा बागमती सरकारलाई दिएको समर्थन फिर्ता

समर्थन फिर्ता लिए पनि एमालेका सरकारमा सहभागी छजना मन्त्रीले तत्काल राजीनामा दिएका छैनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, साउन ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ ।

बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटालाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलसहितका मन्त्रीहरुले संयुक्त रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउनुभएको हो ।

एमाले बागमती प्रदेश संसदीय दलले बुधबार प्रदेश प्रमुखसमक्ष पत्र बुझाउँदै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन साउन ६ गतेदेखि लागू हुनेगरी फिर्ता लिएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले हस्ताक्षर गर्नुभएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २०८२ साउन २० गते गठन भएको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको उल्लेख छ ।

संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आवश्यक संवैधानिक प्रक्रियाका लागि प्रदेश प्रमुखलाई जानकारी गराइएको पत्रमा जनाइएको छ । समर्थन फिर्ता लिए पनि एमालेका सरकारमा सहभागी छजना मन्त्रीले तत्काल राजीनामा दिएका छैनन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चितवनमा रहेकाले उहाँ हेटौँडा फर्किएपछि मात्र एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी भएको कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया