किएभ, साउन ६ गते । रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सार्वजनिक दबाब र युद्ध रणनीतिमा सुधारको आवश्यकतालाई ध्यानमा राख्दै सेना प्रमुखसहित उच्च सैन्य नेतृत्व परिवर्तन गर्नुभएको हो ।
हालै गरिएको सरकारी पुनर्गठनपछि सेना प्रमुख र रक्षामन्त्री दुवैले पद गुमाएका छन् । निवर्तमान सेना प्रमुख र रक्षामन्त्रीबिच देखिएको मतभेदले युद्ध सञ्चालनमा असर पार्ने चिन्ता बढिरहेका बेला यो निर्णय आएको हो । युक्रेनले यस वर्ष युद्धका विभिन्न मोर्चामा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै आएको छ ।
नयाँ सेना प्रमुखका रूपमा ४३ वर्षीय मेजर जनरल मिखाइलो द्रापाती नियुक्त हुनुभएको छ । उहाँ युक्रेनी सेनाको नयाँ पुस्ताका कमान्डर मध्ये एक मानिनुहुन्छ र सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि सुरु भएको द्वन्द्वदेखि आफ्नो नेतृत्व क्षमता र साहसका कारण परिचित हुनुहुन्छ । राष्ट्रपति जेलेन्स्कीले द्रापाती र अन्य सैन्य कमान्डरलाई कोर प्रणालीमा सुधार, हतियार तथा ड्रोनको आपूर्ति तीव्र बनाउने, रुसको आक्रमणविरुद्ध हवाई प्रतिरक्षा थप सुदृढ गर्ने तथा स्पष्ट परिचालन रणनीति तयार पार्ने निर्देशन दिनुभएको छ ।
यसैबिच, निवर्तमान रक्षामन्त्रीसँग पनि राष्ट्रपति जेलेन्स्कीले छुट्टै छलफल गर्नुभएको थियो । ३५ वर्षीय प्रविधिमैत्री उद्यमी मिखाइलो फेडोरोभलाई युक्रेनको ड्रोन प्रविधिको तीव्र विकास गराएर युद्ध क्षेत्रमा रणनीतिक लाभ दिलाएको श्रेय दिइन्छ । फेडोरोभले पूर्व कमान्डर-इन-चिफ जनरल ओलेक्सान्डर सिरस्कीको कार्यशैलीको सार्वजनिकरूपमा आलोचना गर्दै उहाँले आवश्यक सैन्य सुधारमा अवरोध पुर्याएको आरोप लगाउनुभएको थियो ।
सिरस्की सोभियत संघकालमा सैन्य तालिम प्राप्त पुराना पुस्ताका कमान्डर हुनुहुन्छ । फेडोरोभलाई पुनः जिम्मेवारीमा फर्काउन र सिरस्कीलाई हटाउन माग गर्दै किएभसहित विभिन्न सहरमा प्रदर्शनसमेत भएका थिए । प्रदर्शनकारीले फेडोरोभलाई सैन्य आधुनिकीकरणका प्रमुख अभियन्ताका रूपमा हेरेका थिए । राष्ट्रपति जेलेन्स्कीले फेडोरोभलाई सरकारभित्रै प्रविधि क्षेत्रको समन्वय गर्ने सम्मानजनक नयाँ जिम्मेवारी प्रस्ताव गर्नुभएको छ ।
उहाँले उक्त प्रस्ताव स्वीकार गर्नुभएको छ वा छैन भन्ने विषयमा भने औपचारिक जानकारी सार्वजनिक भएको छैन । फेडोरोभले द्रापातीको नियुक्तिलाई स्वागत गर्दै यसलाई स्वतन्त्रता र न्यायका लागि युक्रेनको संघर्षमा नयाँ आशाको सुरुआत भएको प्रतिक्रिया दिनुभएको छ । साथै उहाँले सिरस्कीले किएभको रक्षा, खार्किभ प्रतिआक्रमणसहितका महत्त्वपूर्ण सैन्य अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्दै ती उपलब्धि युक्रेनको इतिहासको महत्त्वपूर्ण हिस्सा रहने उल्लेख गर्नुभएको छ ।
तर अब युक्रेनले अझ तीव्र गतिमा अघि बढ्दै विगतका कमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । गत साता प्रधानमन्त्रीसहित सरकारका प्रमुख पदमा गरिएको फेरबदलपछि सुरु भएको राजनीतिक असन्तुष्टि सैन्य नेतृत्व परिवर्तनसँगै थप चर्चामा आएको छ । हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएपछि राष्ट्रपति जेलेन्स्कीले अन्ततः सैन्य नेतृत्वमा व्यापक पुनःसंरचना गर्ने निर्णय लिनुभएको हो । रासस/एपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया