काठमाडौँ, साउन ६ गते । नेपाली सेनाको सैनिक वार कलेजमा सञ्चालित सि.सं. १४ हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ। गत चैत १५ गतेदेखि सञ्चालित उक्त तालिमको सोमबार आयोजित विशेष समारोहबिच प्रधानसेनापति अशोकराज सिग्देलले समापन गर्नुभयो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाको सबैभन्दा उच्च तहको व्यावसायिक सैनिक तालिमका रूपमा सञ्चालन हुँदै आएको यस तालिममा महासेनानी दर्जाका ३६ जना अधिकृत दीक्षित हुनुभएको छ।
वरिष्ठ सैनिक अधिकृतहरूको नेतृत्व, रणनीतिक सोच तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित तालिममा राज्य सञ्चालन, भूराजनीति तथा आर्थिक गतिशीलता, राजनीतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति, नेतृत्व र व्यवस्थापनलगायतका विषयमा अध्ययन गराइएको थियो।
समारोहमा तालिमका प्रमुख शिक्षक उपरथी मधुकरसिंह काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। तालिममा सहभागी महासेनानी प्रशान्त बज्राचार्य समग्रमा प्रथम भई ‘बेस्ट स्टुडेन्ट अफिसर’ घोषित हुनुभयो। त्यसै गरी उत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गर्नुभएको छ।

वि.सं. २०७१ देखि सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म ४१० जना अधिकृत दीक्षित भइसकेका छन्। यस्ता तालिमले वरिष्ठ अधिकृतहरूको रणनीतिक नेतृत्व क्षमता, राष्ट्रिय सुरक्षा दृष्टिकोण तथा समसामयिक अन्तर्राष्ट्रिय परिवेशको विश्लेषण गर्ने दक्षता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको सेनाले जनाएको छ।
समापन समारोहमा पूर्वप्रधानसेनापति, रथीवृन्द, बहालवाला सैनिक अधिकृतहरू, प्रशिक्षार्थी अधिकृत तथा उनीहरूका परिवारजनको उपस्थिति थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया