श्रावण ७, २०८३ बिहिबार July 23, 2026

नेपाली काँग्रेसको ‘एनसी फर एनसी’ अभियान शुरु

पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई यस अभियानमा सक्रियताका साथ सहभागी हुन र राष्ट्रिय हितका मुद्दामा केन्द्रित हुन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेपाली काँग्रेसले ‘एनसी फर एनसी’ अभियानको घोषणा गरेको छ ।

बिहीवार ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिएको हो । सभापति गगनकुमार थापाले पार्टीको नयाँ अभियान ‘एनसी फर एनसी’ को घोषणा गर्दै ‘एनसी फर एनसी’ को अर्थ ‘नेपाली काँग्रेस फर नेसनल कज’ रहेको बताउनु भयो ।

उहाँले यो अभियान पार्टीको आन्तरिक मामिलामा मात्र सिमित नभई नागरिकहरूको कल्याण र वृहत्तर राष्ट्रिय हितमा केन्द्रित रहने स्पष्ट पार्नुभयो ।

अभियानको कार्यतालिका सार्वजनिक गर्दै सभापति थापाले साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सांगठनिक तयारीको चरण रहने जानकारी दिनुभयो ।

उहाँकाअनुसार भदौ २४ गते वीपी जयन्तीको अवसरमा भव्य समारोह आयोजना गरिनेछ । सोही दिन नेपाली कांग्रेसका प्रत्येक सदस्य र पार्टीका सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष प्रतिज्ञा गर्ने कार्यक्रम तय गरिएको छ ।

सभापति थापाले भन्नुभयो, ‘यो अभियान एनसी फर एनसी हो । यहाँ एनसी भनेको नेपाली काँग्रेस हो । नेपाली काँग्रेस फर नेपाली काँग्रेस होइन । एनसी भनेको नेपाली काँग्रेस फ नेशनल कज हो । नेपाली काँग्रेस फर नेशनल कज । यो अभियानको साझा उद्देश्य छ । हामी नागरिकहरूको कल्याणका लागि काम गर्छौं । नागरिक हितका लागि हामी यो अभियान अघि बढाउँछौँ । आगामी भदौ २४ गते वीपी जयन्ती छ । हामी यसपालि भदौ २४ गते वीपी जयन्ती भव्य समारोहका बीच मनाउँछौँ । आज साउन ७ गते हो । म मञ्चमा आसीन सबै नेता तथा तल उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गर्न चाहन्छु, आज साउन ७ गतेदेखि भदौ २४ गतेसम्मको समय हामीसँग छ । यो अवधिमा सोचौँ । यो अवधिमा मनन गरौँ । यस विषयमा अलिकति सोचौँ, मनन गरौँ र तयारी गरौँ । यो अवधिभर प्रत्येक नेपाली काँग्रेस सदस्यले भदौ २४ गते एउटा प्रतिज्ञा (एभिमनभ) गर्ने हो । काँग्रेसको प्रत्येक समितिले पनि एउटा प्रतिज्ञा गर्ने हो । साउन ७ गतेदेखि भदौ २४ गतेसम्म हामी यस अभियानबारे सांगठनिक तयारी गर्छौं । यसको विस्तृत योजना हामीले तयार गरिसकेका छौँ ।’

उहाँले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई यस अभियानमा सक्रियताका साथ सहभागी हुन र राष्ट्रिय हितका मुद्दामा केन्द्रित हुन आग्रह समेत गर्नुभयो । भदौ २४ गतेको विशेष समारोहलाई अभियानको मुख्य प्रस्थानबिन्दु बनाइने पार्टीले जनाएको छ । –न्युज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया