श्रावण ७, २०८३ बिहिबार July 23, 2026

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यकपर्ने रगत निःशुल्क उपलब्ध गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा ।  झापाको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाबीच नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी आज सम्झौता भएको छ ।

सम्झौताअनुसार अर्जुनधारा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई स्वास्थ्य उपचारका क्रममा आवश्यकपर्ने रगत निःशुल्क उपलब्ध गराइनेछ । रगतको सेवा शुल्कबापत प्रतिपिन्ट रु एक हजार १०० नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई त्रैमासिक रूपमा भुक्तानी गर्नेछ ।

सम्झौतापत्रमा अर्जुनधारा नगरपालिकाका तर्फबाट नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र प्रमुख प्रशासकीय अधिकृत हिमराज सिँहाइ तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका तर्फबाट सभापति लोकराज ढकाल र शाखा अधिकृत हरिशरण खड्काले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि नगरप्रमुख तामाङले उपचारका क्रममा आर्थिक अभावका कारण कुनै पनि नगरवासी रगतबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताउनुभयो । “रगत अभावका कारण कुनै पनि नागरिकको उपचार प्रभावित हुनुहुँदैन भन्ने नगरपालिकाको मान्यता हो”, उहाँले भन्नुभयो, “यस सम्झौताले नगरवासीलाई सहज, छिटो र निःशुल्क रूपमा रगत उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

सेवा लिन बिरामीले चिकित्सकले सिफारिस गरेको रगत मागको पुर्जी, अर्जुनधारा नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण खुल्ने कागजात तथा रगत बुझेको रसिद पेस गर्नुपर्नेछ । सम्झौताअनुसार एउटै बिरामीलाई बढीमा पाँच पोकासम्म रगतको सेवा शुल्क नगरपालिकाले व्यहोर्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया