श्रावण ६, २०८३ बुधबार July 22, 2026

मौसमजन्य विपतमा कृषि : सावधानी अपनाए टर्छ क्षति

किसानलाई विशेष सतर्कता अपनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन ६ गते । देशभर मनसुन सक्रिय भएसँगै कृषि तथा पशुपन्छी क्षेत्रमा विभिन्न प्रकारका जोखिम बढेकाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । अत्यधिक वर्षा, डुबान, पहिरो, रोग तथा किरा प्रकोपका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि समयमै पूर्वतयारी गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुरोध गरेको हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा सार्वजनिक गरेको कृषि तथा पशुपन्छी सल्लाहमा मनसुनजन्य जोखिम न्यूनीकरणका विभिन्न उपाय समेटिएका छन् । कृषि प्रसार अधिकृत कृष्ण धितालले अत्यधिक वर्षाका कारण धान खेतीमा प्रतिकूल असर पर्न सक्ने बताउनुभयो । उहाँका अनुसार धानका २१ देखि २५ दिन उमेरका बेर्ना समयमै रोप्न, हरियो मलको प्रयोग बढाउन तथा सिफारिस गरिएको मात्रामा मलखाद प्रयोग गर्नु पर्छ । वर्षायाममा धानबालीमा गबारो किरा, फेद कुहिने रोग तथा झारपातको समस्या बढ्न सक्ने भएकाले नियमित अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो । लगातार वर्षा हुँदा खेतमा अक्सिजनको मात्रा घट्ने र विभिन्न रोगका जीवाणु तथा ढुसी सक्रिय हुने भएकाले समयमै व्यवस्थापन नगरे उत्पादनमा असर पर्ने उहाँको भनाइ छ ।

तरकारी खेतीमा पनि वर्षायाम चुनौतीपूर्ण समय मानिएको छ । कृषि विकास अधिकृत कुलप्रसाद दवाडीले अत्यधिक आर्दता र कम घामका कारण ढुसीजन्य रोग तथा किराको प्रकोप बढ्न सक्ने बताउनुभयो । गोलभेँडा, खुर्सानी, फर्सी समूह तथा अन्य तरकारी बालीमा नियमित निरीक्षण गर्न उहाँले सुझाव दिनुभयो । विशेष गरी प्लास्टिक घरभित्र उत्पादन गरिने गोलभेँडामा टुटा एब्सोलुटा किराको जोखिम बढी हुने भएकाले फेरोमोन ट्र्याप प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । रोग लागेपछि नियन्त्रण गर्नुभन्दा रोकथामका उपाय प्रभावकारी हुने उहाँको भनाइ छ ।

फलफूल खेतीतर्फ सुन्तला, आँप, केरा र स्याउ बगैँचामा सरसफाइ, झारपात नियन्त्रण तथा पानी निकासको उचित व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । विषादी प्रयोग गर्दा मौसमको अवस्था हेरेर मात्र प्रयोग गर्न तथा आँप र केरालाई छिटो पकाउन क्याल्सियम कार्बाइड प्रयोग नगर्न मन्त्रालयले सचेत गराएको छ ।

पशुपालन क्षेत्रमा पनि वर्षायामलाई संवेदनशील समयका रूपमा लिइएको छ । पशु प्राविधिक उद्धवप्रसाद सापकोटाका अनुसार अत्यधिक चिसोपना, हिलो तथा पानी जम्ने अवस्थाले पशुमा विभिन्न रोगको जोखिम बढाउँछ । मुसाको पिसाबबाट सर्ने लेप्टोस्पाइरोसिस, गाईभैँसीमा देखिने भ्यागुते रोग, भेडाबाख्रामा निमोनिया तथा खुर कुहिने रोग वर्षायाममा बढी देखिने उहाँले बताउनुभयो ।

पशु स्वास्थ्य विज्ञहरूले गोठ सफा राख्न, ओसिलो वातावरण हटाउन, पर्याप्त घाँस तथा पोषणयुक्त आहार उपलब्ध गराउन र नियमित खोप कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् । पशुमा असामान्य लक्षण देखिएमा तत्काल पशु स्वास्थ्य प्राविधिकसँग सम्पर्क गर्न आग्रह गरिएको छ । कुखुरा तथा बङ्गुरपालन व्यवसायीलाई बर्डफ्लु र अफ्रिकन स्वाइन फिभरको जोखिमप्रति सजग रहन मन्त्रालयले आग्रह गरेको छ । पशु चिकित्सक डा. मनोजकुमार शाहीले खोरभित्र पानी पस्न नदिने, नियमित सरसफाइ गर्ने, बाहिरी व्यक्तिको आवतजावत नियन्त्रण गर्ने तथा जैविक सुरक्षा मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने बताउनुभयो ।

मत्स्यपालन व्यवसायमा पनि वर्षायाममा जोखिम बढ्ने भएकाले पोखरीमा धमिलो पानी पस्न नदिने, पानीको गुणस्तर नियमित परीक्षण गर्ने तथा बाढीका कारण माछा बग्न नदिन निकासमा जाली प्रयोग गर्न सुझाइएको छ । सम्भावित क्षतिबाट जोगिन मत्स्य व्यवसायको बिमा गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप थप अनिश्चित बन्दै गएकाले कृषि क्षेत्र थप जोखिममा परेको विज्ञहरूको भनाइ छ । मन्त्रालयले रोग, किरा तथा प्राकृतिक विपत्बाट हुने क्षति न्यूनीकरणका लागि किसान, स्थानीय तह तथा कृषि र पशु प्राविधिकबिच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ । समयमै सावधानी अपनाउन सके कृषि तथा पशुपन्छी क्षेत्रमा हुने क्षति उल्लेख्य रूपमा कम गर्न सकिने मन्त्रालयको विश्वास छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया