श्रावण ५, २०८३ मंगलबार July 21, 2026

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षापछि राजमार्गमा उच्च जोखिम, यात्रुलाई सतर्कता अपनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गमा पहिरो, हिलो र बाढीको जोखिम बढेपछि सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरणअनुसार बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै केही राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामको जोखिमलाई ध्यानमा राख्दै बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ। दुवै सडकमा अर्को सूचना नभएसम्म रातिको समयमा मात्र प्रतिबन्ध लागू रहने जनाइएको छ।

यता, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, खोटाङको मध्यपहाडी लोकमार्ग (दिक्तेल–भोजपुर सडक खण्ड) तथा दार्चुलाको महाकाली राजमार्गमा विभिन्न लोका कारण सवारी आवागमन ठप्प भएको छ भने सिन्धुपाल्चोकमा जिरोकिलो र कोदारी क्षेत्रमा लगातार पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध बनेको छ। बागलुङको बेलबगर, खोटाङको माम्खा र दार्चुलाको पनेबाँज–ऐरीछिना क्षेत्रमा पनि पहिरोले यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा मौसमको पूर्वसूचना पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सडक खुलाउने काम सम्बन्धित निकायले जारी राखेका छन् भने जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया