श्रावण २६, २०८३ मंगलबार August 11, 2026

फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ

“कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे विचार गरिए पनि फिफाले ठूलो गल्ती गर्नेछ”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, २६ साउन (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ‘ठूलो गल्ती’ हुने बताउनुभएको छ । विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई सहभागी गराउने योजनाका कारण इन्फान्टिनोमाथि आलोचना भइरहेका बेला ट्रम्पले उहाँको बचाउ गर्नुभएको हो ।

युरोपेली फुटबल महासङ्घ (युइएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कोन्काकाफ) र एसियाली फुटबल महासङ्घ (एएफसी)का प्रमुखले संयुक्त रूपमा जारी गरेको खुला पत्रमा इन्फान्टिनोमाथि विश्वासघात गरेको आरोप लगाइएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इन्फान्टिनोको पक्षमा धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले इन्फान्टिनोलाई ‘असाधारण’ व्यक्तिको सङ्ज्ञा दिँदै अहिलेसम्मकै सफल विश्वकप आयोजना गरेको दाबी गर्नुभएको छ ।

“कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे विचार गरिए पनि फिफाले ठूलो गल्ती गर्नेछ,” ट्रम्पले लेख्नुभएको छ ।

गत महिना ट्रम्पले इन्फान्टिनोसँगै विश्वकपको फाइनल खेल हेर्नुभएको थियो । इन्फान्टिनोले गत वर्ष विश्वकपको खेल तालिका सार्वजनिक गर्ने समारोहमा ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान गर्नुभएको थियो ।

ट्रम्पको समर्थन अमेरिकी फुटबल महासङ्घको अडानभन्दा फरक देखिएको छ । अमेरिकी फुटबल महासङ्घ इन्फान्टिनोको नेतृत्वको आलोचना गर्ने पक्षमा सामेल भएको छ ।

इन्फान्टिनोले विश्वकपलगायत फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सार्नुभएको थियो । तर युरोपेली फुटबल महासङ्घसहित विभिन्न निकायको तीव्र विरोधपछि उहाँले उक्त योजना फिर्ता लिनुभएको थियो ।

युइएफए, कोन्काकाफ र एएफसीले सोमबार जारी गरेको संयुक्त पत्रमा फुटबलको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै इन्फान्टिनोको नेतृत्वशैलीप्रति प्रश्न उठाइएको छ ।

उनीहरूले विश्वास तोडिएको अवस्थामा नेतृत्वले आफ्नो जिम्मेवारी त्याग्नुपर्ने उल्लेख गर्दै फिफा अध्यक्षमाथि निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आरोप लगाएका छन् ।

इन्फान्टिनोको चौथो कार्यकालको तयारी

कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको छ । इन्फान्टिनो सन् २०२७ मार्चमा हुने फिफा कङ्गे्रसबाट चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचित हुने तयारीमा हुनुहुन्छ । उम्मेदवारको नामावली आगामी नोभेम्बर १८ सम्ममा घोषणा गरिसक्नुपर्नेछ ।

अमेरिका, मेक्सिको र क्यानडामा भएको विश्वकप सफलतापूर्वक आयोजना गरेपछि इन्फान्टिनो निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको थियो । तर निजी लगानीसम्बन्धी योजनाले विवाद चर्काएपछि उहाँमाथिको दबाब बढेको हो ।

दश वर्षदेखि फिफाको नेतृत्वमा रहनुभएका ५६ वर्षीय स्विस नागरिक इन्फान्टिनोले अफ्रिकी फुटबल महासङ्घ (सीएएफ) को समर्थन पाउनुभएको छ भने दक्षिण अमेरिकी फुटबल महासङ्घ (कोन्मेबोल)ले पनि उहाँलाई समर्थन गर्ने सङ्केत गरेको छ ।

फिफाको निर्वाचनमा महादेशीय महासङ्घले नभई सदस्य राष्ट्रका फुटबल सङ्घले मतदान गर्छन् । इन्फान्टिनोले कोन्काकाफअन्तर्गतको मेक्सिको तथा एएफसीका सदस्य कुवेत र कतारबाट पनि समर्थन पाउनुभएको छ ।

निजी लगानीको योजनामा विवादयुइएफएले निजी लगानीको योजना अघिबढे विश्वकप बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोले उक्त योजना फिर्ता लिनुभएको थियो । युइएफएले यसअघि योजनालाई ‘अपारदर्शी र गोप्य सम्झौता’ भन्दै आलोचना गरेको थियो ।

सोमबार पनि युइएफएले इन्फान्टिनोको निर्णय क्षमतामाथि प्रश्न उठाएको छ । गत साता मोरक्कोमा भएको आकस्मिक बैठकमा इन्फान्टिनोले फिफाका वरिष्ठ अधिकारीको समर्थन प्राप्त गर्नुभएको थियो । तर युइएफए, कोन्काकाफ र एएफसीले उक्त समर्थनलाई पर्याप्त नभएको बताएका छन् ।

उनीहरूले फिफा व्यवस्थापन समितिका सीमित सदस्य मात्र सहभागी भएको बैठकले समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन् ।

इन्फान्टिनोको नेतृत्वमा विश्वकपमा टोलीको सङ्ख्या बढाएर ४८ पुर्याइएको छ । महासङ्घले विगत एक दशकमा फुटबलमा भएको प्रगतिलाई स्वीकार गरे पनि त्यसलाई कुनै एक व्यक्तिको उपलब्धिका रूपमा लिन नहुने बताएका छन् ।

उनीहरूले फुटबलको विकास फिफा, महादेशीय महासङ्घ, सदस्य सङ्घ तथा खेलमा सङ्गलग्न हजारौँ व्यक्तिको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गरेका छन् । साथै, फिफाको नेतृत्वमा जवाफदेहिता र पारदर्शिता कमजोर हुँदै गएको आरोप लगाउँदै आफूहरू फुटबलको एकता र संस्थागत उत्तरदायित्वका पक्षमा एकजुट भएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार