भाद्र १, २०८३ सोमबार August 17, 2026

एमालेभित्र चर्कियो नेतृत्व हस्तान्तरणको बहस

नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अराजक र ‘आवारा’ को संज्ञा दिँदै पार्टी छोड्न ओलीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसले उग्र रूप लिएको छ । पार्टीभित्र युवा पुस्ताले नयाँ शिराबाट पार्टीको पुनर्गठन गर्नुपर्ने आवाज उठाउन थालेपछि अध्यक्ष केपी शर्मा ओली र युवा नेताहरूबीच दोहोरी नै सुरु भएको छ । अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अराजक र ‘आवारा’ को संज्ञा दिँदै पार्टी छोड्न चेतावनी दिनुभएको छ भने असन्तुष्ट युवा नेताहरूले उहाँको भनाइको प्रतिवाद गरेका छन् । यसले एमालेभित्रको आन्तरिक राजनीतिलाई थप तरंगित बनाएको छ ।

आइतबार झापाको बिर्तामोड र इलाममा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो । झापामा आयोजित ‘मिसन जागरण’ कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा स्टाटस लेखेर र हस्ताक्षर अभियान चलाएर नेतृत्व परिवर्तनको प्रयास नगर्न चेतावनी दिनुभयो । पार्टीको नेतृत्व फेर्नुपर्ने आवश्यकता महसुस भएको भए सम्बन्धित पार्टी कमिटीमा विधिसम्मत तरिकाले कुरा राख्न उहाँले सुझाव दिनुभयो । अध्यक्ष ओलीले पार्टीमा बस्ने भए अनुशासनमा बस्न र त्यसो गर्न नसक्ने भए आफ्नो बाटो रोज्न असन्तुष्ट पक्षलाई चेतावनी दिनुभएको छ ।

यसैगरी, इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठा भएको बताउनुभयो । उहाँले पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो । ‘पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया र समोसा खाँदै पार्टी अध्यक्ष हटाउने जस्ता कुरा गर्नु गम्भीर विषय हो ।

अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो’, उहाँले भन्नुभयो । अहिले विरोधीहरूले तीव्र प्रहार गरिरहेका बेला सिंगो पार्टी एकजुट हुनुपर्नेमा आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने उहाँको भनाइ थियो । अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाइने स्पष्ट पार्दै उहाँले सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने कार्य रोक्न निर्देशन दिनुभयो ।

पार्टी पुनर्गठन पक्षधरहरू आक्रोशित

अध्यक्ष ओलीले नेतृत्व पुनर्गठनको बहस चलाउनेहरूलाई लक्षित गर्दै कडा शब्दावली प्रयोग गरेपछि एमालेका युवा नेताहरू आक्रोशित बनेका छन् । विशेषगरी पूर्वअखिलका नेताहरूले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत ‘म आवारा’ भन्दै व्यंग्यात्मक अभियान नै चलाएका छन् । यसै सन्दर्भमा युवा नेतृ नविना लामाले अध्यक्ष ओलीको अभिव्यक्तिको सशक्त प्रतिवाद गर्नुभएको छ । उहाँले पार्टी निर्माण र इतिहासको रक्षाका लागि चलाइएको वैचारिक बहसलाई ‘आवारा’ भन्नु अत्यन्तै दुःखद भएको बताउनुभयो ।

नेतृ लामाले भन्नुभयो, ‘हिजो मन पर्दा छोराछोरी भन्ने, मन नपर्दा आवारा भन्ने कहीँ हुन्छ ? हामी उहाँलाई ‘केपी बा’ भनेर सम्बोधन गर्छौं, अध्यक्ष भनेर सम्मान गर्छौं । तर, उहाँलाई मन नपर्ने कुरा गर्दैमा आवारा भन्ने शब्द प्रयोग गर्न मिल्दैन ।’ उहाँले आफूहरू कुनै अराजक गतिविधि, गुण्डागर्दी वा हप्ता असुलीमा नलागेको स्पष्ट पार्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने जायज मुद्दा मात्र उठाएको जिकिर गर्नुभयो । आफूहरू जन्मिएदेखि नै पार्टीमा लागेको र पार्टीमा आफ्नो पनि रगत पसिना बगेको भन्दै कसैले छोड् भन्दैमा पार्टी नछोड्ने उहाँले स्पष्ट पार्नुभयो ।

असन्तुष्ट पक्षले अध्यक्ष ओलीको नेतृत्व असफल भइसकेको निष्कर्ष निकाल्दै सम्मानजनक रूपमा नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग राखेको छ । जनताले निर्वाचनमा एमालेलाई पछाडि पारेको र अध्यक्ष ओलीकै कारण कतिपय नेताहरूले पराजय भोग्नुपरेको तथ्यलाई औँल्याउँदै अब नेतृत्व परिवर्तनको विकल्प नभएको उनीहरूको भनाइ छ । ‘देशमा ३५ वर्षको उमेरको व्यक्ति प्रधानमन्त्री बनेको छ, राजनीति बाहिरका मानिस संसद्मा पुगेका छन् । यस्तो अवस्थामा हामीले पनि पुस्तान्तरणको कुरा गरेका हौँ’, नेतृ लामाले भन्नुभयो । हजारौँ कार्यकर्ताले बनाएको पार्टी कसैको पेवा नभएको उनीहरूको तर्क छ ।

सरकारप्रति ओलीको कटाक्ष

एकतिर आफ्नै पार्टीभित्रको आलोचना खेपिरहनु भएका अध्यक्ष ओलीले अर्कोतिर वर्तमान सरकार र नयाँ राजनीतिक शक्तिहरूमाथि पनि कडा प्रहार गर्नुभएको छ । इलामको सोही कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहलगायत नयाँ दलहरूप्रति कटाक्ष गर्दै उहाँले अनुभवहीनलाई शासन सुम्पिँदा देश बर्बादीतर्फ उन्मुख भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खाना बनाउन नजान्ने बच्चालाई भान्सामा पठाउँदा उसले सबै कुरा बिगार्छ । मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन । शासन चलाउन पनि त्यस्तै अनुभव, क्षमता र ज्ञान चाहिन्छ ।’

वर्तमान सरकारलाई ‘भवितव्य’को उपज संज्ञा दिँदै अध्यक्ष ओलीले क्यारेमबोर्ड खेल्दा बच्चाले नजानेरै गोटी प्वालमा पारेजस्तो संयोग मात्र अहिलेको सरकार भएको टिप्पणी गर्नुभयो । उहाँले यो सरकार प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाउँदै आफू र नेपाली कांग्रेसका नेता रमेश लेखकसहितलाई झुटा मुद्दा लगाउने र गिरफ्तार गर्ने प्रयास भइरहेको दाबी गर्नुभयो । संविधानको उल्लंघन भइरहेको भन्दै उहाँले असंवैधानिक ढंगले संसद् विघटन गरेर चुनावको नाटक गरिएको आरोपसमेत लगाउनुभयो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया