काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पार्टीलाई पनि बेवास्ता गर्नुभएको छ । संसद्मा उपस्थित नभएको भन्दै चर्को आलोचना भइरहेका बेला उहाँले पार्टीको संसदीय दलको बैठकलाई पनि बेवास्ता गर्नुभएको हो । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सिंहदरबारमै रहनुभएका उहाँ भने जानुभएन । संसदीय अभ्यासमा दलको नेताले आफ्ना सांसदहरूको निगरानी राख्नुपर्ने हुन्छ । तर, रास्वपा संसदीय दलकै बैठकलाई भने उहाँले निरन्तर बेवास्ता गर्दै आउनुभएको देखिएको हो । संसदीय दलकै नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका बालेनले पछिल्लो पाँच महिनासम्म संसदीय दलको बैठकसमेत बोलाउनुभएको छैन । यसअघि पनि सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाउनुभएको थियो ।
बुधबार रविले नै बोलाएको दलको बैठकमा पनि बालेन अनुपस्थित रहनुभएको थियो । बालेन रास्वपाको वरिष्ठ नेतासमेत भए पनि पार्टीको बैठकमा समेत जाने गर्नुभएको छैन । प्रतिनिधि सभालाई पनि उहाँले यसैगरी बेवास्ता गर्दै आउनुभएको छ । प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको भन्दै चर्को आलोचना भएपछि यही साता सभामुख डोलप्रसाद अर्यालले सांसदका प्रश्नको उत्तर दिन रुलिङ नै गर्नुभएको थियो । भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ ।
संसदीय दलका नेता बिनाको बैठकले दलको विधान नै संशोधन गर्ने निर्णय गरेको छ । सांसदहरूको बैठकले रास्वपा संसदीय दलको विधान २०८३ लाई संशोधन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार विधान संशोधनका लागि प्रमुख सचेतकको नेतृत्वमा सात दिनभित्र प्रतिवेदन तयार गर्नेगरी कार्यदल गठन भएको छ । ‘आगामी दिनमा सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा कम्तीमा संसद्को मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानुन निर्माण प्रक्रिया सशक्त बनाउन आवश्यक संशोधन गर्नेगरी विधान संशोधन कार्यदल बनेको छ’, बैठकपछि नेता पराजुलीले भन्नुभयो ।
छलफलको सुरुमै सभापति लामिछानेले सांसदहरूलाई मर्यादमा रहन निर्देशन दिनुभएको थियो । केही दिनअघि संसद्मा गणपूरक संख्या नपुग्दा विधेयक नै प्रस्तुत हुन रोकिएको थियो । पछिल्लो समय रास्वपाकै केही सांसदहरूले सरकारको खुलेरै विरोध गरिरहेका छन् । केही भने समर्थनमा उत्रिने गरेका छन् । झण्डै दुई तिहाइको बलियो सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । विपक्षी दलहरूले सरकारको चर्को आलोचना गरिरहेका बेला सत्तापक्षकै केही सांसदहरूले विरोध जनाउन थालेपछि रविले बैठक बोलाउनुभएको थियो ।
डिजिटल प्ल्याटफर्ममा आफ्ना गतिविधिहरू अपडेट गर्न मन्त्रीहरूलाई निर्देशन
रास्वपा सभापति रवि लामिछानेले आफ्ना मन्त्रीहरूलाई अनिवार्य रूपमा ‘आरएसपी पल्स’ एप डाउनलोड गर्न निर्देशन दिनुभएको छ । रास्वपा संसदीय दलको बैठकमा उहाँले अनिवार्य रूपमा २४ घण्टाभित्र एप डाउनलोड गरेर गतिविधिहरू अपडेट गर्न निर्देशन दिनुभएको हो । सांसद, पार्टी र जनताबीच पारदर्शिता र जवाफदेहिताको सहज एकरूपता कायम गर्न डिजिटल प्ल्याटफर्ममा अनिवार्य गतिविधि अपडेट गर्नुपर्ने व्यवस्था गरिएको रास्वपा सांसद बोधनारायण श्रेष्ठले बताउनुभयो । यसअघि रास्वपाले आफ्ना सांसदहरूको डिजिटल ट्र्याकिङ गर्न डिजिटल प्ल्याटफर्म सञ्चालनमा ल्याएको थियो । अहिले मन्त्रीहरूका लागि पनि अनिवार्य गरिएको हो । यो प्ल्याटफर्ममा अब सांसदसहित मन्त्रीहरूले पनि आफ्ना गतिविधिहरू अपडेट गराउनुपर्ने छ । त्यसमा संसद्मा बोल्ने विषय, विभिन्न भ्रमणहरू, भेटघाटलगायत गतिविधिहरू अपडेट गराउनुपर्ने रास्वपाले जनाएको छ ।
सरकारका काम जनतामाझ पुर्याउन नसकिएको मन्त्रीहरूको गुनासो
संसदीय दलको बैठकमा मन्त्रीहरूले आफूले गरेको कामबारे जानकारी गराएका थिए । बैठकमा मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट गरेका काम कारबाही, गतिविधिबारे जानकारी गराइरहेको नेता गणेश पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले गरेका काम आम जनतामाझ पुर्याउन नसकिएको गुनासो मन्त्रीहरूले गरेका थिए । बैठकमा ग्यास अभाव भएको विषय पनि छलफल भएको उहाँले बताउनुभयो । ‘वैशाखमा २२ लाख सिलिण्डर मात्र बजारमा पुगेको थियो । साउन महिनामा ४० लाख सिलिण्डर बजारमा पुगे पनि ग्यास अभाव भयो । किन भयो ? कसरी भयो ? भन्ने विषयमा पनि चर्चा भयो’, उहाँले भन्नुभयो । सांसदहरूले राखेका जिज्ञासाको पनि मन्त्रीहरूले जवाफ दिएका थिए । बैठकमा सरकारको काम कारबाहीबारे पनि समीक्षा भएको थियो ।
मत फिर्ताबारे गृहमन्त्रीको दाबी- जोक गरेको विषय ठूलो बनाइयो
गृहमन्त्री सुधन गुरुङले भोट फिर्ता लानुस् भनेर आफूले जोकको रूपमा भनेको दाबी गर्नुभएको छ । संसदीय दलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले जोकको रूपमा बोलेको विषयलाई ठूलो बनाइएको दाबी गर्नुभएको हो । ‘जोक गरेको विषय हो । हामीले जोक गरेको विषयलाई त्यत्रो ठूलो बनाउने हो ?’ भोट फिर्ता लिनेबारे सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘हामी भित्र बसेर गरेको सल्लाह जोक होइन त । हामी आफ्ना पार्टीकाबीच बसेर गरेको कुरा ।’
गृहमन्त्री गुरुङ र गोर्खा-१ का स्थानीयबीच संवाद हुँदा भोट फिर्ता लैजानुस् भनेको विषय सामाजिक सञ्जालमा भाइरल बनेको थियो । मन्त्री गुरुङले भने सरकार बनेको भर्खर चार महिना पुगेको र बजेट कार्यान्वयनमा आएको केही दिन मात्रै भएकाले धैर्य गर्न आग्रह गर्नुभएको थियो । ‘म चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट लिएर जानुभए हुन्छ’, गृहमन्त्रीले भन्नुभएको थियो । उहाँले नै दलको बैठकमा आफ्ना सांसदले प्रतिपक्षजस्तो व्यवहार गर्दा समस्या भएको गुनासो गर्नुभएको थियो ।
पार्टी नेतृत्व र प्रधानमन्त्रीबीच कुनै असमझदारी छैन : सभापति लामिछाने
रास्वपा सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री बालेन शाहबीच कुनै पनि असमझदारी नरहेको बताउनुभयो । पार्टी नेतृत्व र प्रधानमन्त्रीबीच असमझदारी रहेको भन्दै चलाइएको हल्लामा कुनै सत्यता नभएको उहाँको भनाइ छ । ‘पार्टी नेतृत्व र प्रधानमन्त्रीका बीचमा कुनै असमझदारी छैन’, एक सांसदका अनुसार बैठकमा लामिछानेले भन्नुभयो, ‘जे हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन ।’ सभापति लामिछानेले भ्रम चिर्न संसदीय दलका नेता एवं प्रधानमन्त्रीसहित बैठक राख्ने पनि बताउनुभयो ।
लामिछानेले मन्त्री र सांसदहरूलाई कडा निर्देशन दिनुभयो । रविले सांसद र मन्त्रीहरूलाई अमर्यादित गतिविधि गरेर रमिता देखाउने काम बन्द गर्न निर्देशन दिनुभएको हो । रास्वपाका सांसदहरूले आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्ने पनि उहाँले सुझाव दिनुभयो । ‘कतिपय सांसदहरूले प्रतिनिधिसभामा बोल्दा संसदीय दललाई नै जानकारी नगराएको भेटिएको छ । मन्त्रीहरूले समेत सदन र बाहिरका गतिविधिबारे पार्टीलाई जानकारी गराउने गरेका छैनन्’, बैठकमा उहाँले भन्नुभयो, ‘सांसद र मन्त्री दुवैले यस्ता किसिमिका गतिविधि सच्याउनुपर्छ ।’ मन्त्री र सांसदहरूलाई घमण्ड त्यागेर आपसी सहकार्य र संवादमार्फत आफ्ना गतिविधि गर्न उहाँले निर्देशन दिनुभयो ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया