काठमाडौं । हेटौँडास्थित बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना प्रदेश सभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।
सोमबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री थापाको पक्षमा अनिवार्य मतदान गर्न नेकपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न प्रसाद ढकालले आइतबार ह्विप जारी गरेका हुन्। दलका नेता शालिकराम जमकट्टेलको निर्देशनबमोजिम प्रस्तावको पक्षमा मतदान गर्न भनिएको छ।
प्रदेश सभाको १८औँ बैठक आगामी भदौ ८ गते सोमबार दिउँसो १:०० बजे बस्ने कार्यसूची रहेको छ। नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्न लागेका हुन्।
गत भदौ ३ गते नेकपा, एमाले र राप्रपाबीचको सहमति र सहकार्यमा मुख्यमन्त्री थापाको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस भएको थियो भने भदौ ४ गते प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई नियुक्ति तथा शपथ ग्रहण गराएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया