भाद्र ६, २०८३ शनिबार August 22, 2026

जिल्ला स्तरीय समिति गठन र भेला गर्ने अग्रगामी मोर्चाको निर्णय

मोर्चा आबद्ध दलहरूबाट प्रतिनिधित्व रहने गरी मधेस प्रदेश समन्वय समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एसके कर्ण/जनकपुरधाम, ६ साउन । तराइ मधेश केन्द्रित दलको बाहुल्य रहेको ९ दलीय ‘अग्रगामी मोर्चा’ को मधेस प्रदेशस्तरीय बैठक सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधामस्थित प्रादेशिक कार्यालयमा सम्पन्न बैठकबाट प्रदेशका ८ वटै जिल्लामा समन्वय गठनसहित त्यसको दलीय जिम्मेवारी बाँडफाँट लगायतका महत्वपूर्ण निर्णयहरु गरिएको छ ।

जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न सो बैठकबाट प्रदेशमा भदौ १० भित्र जिल्ला समन्वय समिति गठन, जिम्मेवारी बाँडफाँट तथा आगामी रणनीतिक भेला र कार्यक्रम तय गरिएको जनाइएको छ ।

बैठकमा सहभागी जसपा नेपालका जितेन्द्र सोनलले दिएको जानकारी अनुसार समन्वय समिति गठनका लागि मोर्चा आबद्ध दलहरूलाई जिम्मेवारी समेत तोकिएको छ ।

उनका अनुसार धनुषामा जसपा नेपाल, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी, सप्तरीमा जनमत पार्टी, सिराहामा बहुजन एकता पार्टी, नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी, रौतहटमा आम जनता पार्टी, बारामा आजपा, र पर्सामा प्रलोपालाई जिम्मेवारी दिइएको छ ।

यो सँगै मोर्चाले संगठन विस्तार तथा जनपरिचालनका लागि भदौ २७ गतेदेखि दुई ठुला क्षेत्रीय भेला आयोजना गर्ने निर्णय गरेको छ । जनकपुरधाममा आयोजना हुने सो भेलामा सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीसहितका ५ जिल्लाको सहभागिता रहने निर्णय गरिएको जनाइएको छ ।

यस्तै, रौतहट, बारा र पर्सा जिल्लाको सहभागिता रहने गरी असोज ३ गते वीरगञ्जमा वृहत भेला आयोजना गरिने निर्णय गरिएको हो ।

बैठकबाट केही दिनअघि प्रहरीको गोली लागेर मृत्यु भएको सिरहाका गणेश यादव र बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको सोनलले बताए ।  मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दुवै घटनाका पीडित परिवारलाई अविलम्ब न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउनुका साथै दोषीमाथि कडा कारबाहीको सरकारसँग मोर्चाले माग गरेको छ।

आज बसेको बैठकबाटै मोर्चा आबद्ध दलहरूबाट प्रतिनिधित्व रहने गरी मधेस प्रदेश समन्वय समिति गठन गरिएको छ । सो प्रादेशिक समितिमा जसपा नेपालबाट रामविनोद चौधरी र बालकिशोर प्रसाद यादव, जनमत पार्टीबाट गजानन्द यादव र रामप्रसाद मण्डल, आम जनता पार्टीबाट उमेश कुशवाहा र राधेश्याम साह लगायतका सदस्य रहेको छ ।

यस्तै नेपाल जनमुक्ति पार्टीबाट भुवन थापामगर र रामएकवाल मण्डल, नागरिक उन्मुक्ति पार्टीबाट पृथ्वीनारायण सिंह थारु र समसुल नागेन्द्रप्रसाद चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अमिताभबच्चन दास र किशोरी यादव, नेपाल सङ्घीय समाजवादी पार्टीबाट विमला अंसारी र सैदर अंसारी तथा बहुजन एकता पार्टीबाट प्रकाश महरा र सुजित महरा समेत समिति प्रादेशिक समितिमा सदस्य रहेको रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया