जनकपुरधाम, १३ भदौ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट विभिन्न जिल्लामा भएको व्यापक धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
स्वर्गीय पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्र मधेस प्रदेशले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले बाढी तथा पहिरोका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
बाढी तथा पहिरोमा परी हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र पीडितलाई राहत उपलब्ध गराउने कार्यमा तीव्रता दिन पूर्वप्रधानमन्त्री नेपालले सरकारसँग समेत आग्रह गर्नुभयो । उहाँले महाविपद्का समयमा सरकारको प्रयासमात्र पर्याप्त नहुने उल्लेख गर्दै सबै नागरिक, राजनीतिक दल तथा सरोकारवाला निकायले मानवीय सहयोगका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।
नेपाल, भारत र चीनले यस्ता साझा समस्यालाई गम्भीरतापूर्वक लिएर संयुक्त रूपमा अघि नबढे तीनवटै देशले भविष्यमा गम्भीर सङ्कटको सामना गर्नुपर्ने उहाँले बताउनुभयो । मुलुकको समृद्धि, लोकतन्त्रको सुदृढीकरण तथा जनताका पक्षमा सामाजिक न्याय स्थापना गर्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीहरू अघि बढेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले पुराना राजनीतिक दलहरूले मुलुकका लागि केही पनि नगरेको भन्ने भाष्य गलत रहेको जिकिरसमेत गर्नुभयो ।
कम्युनिष्ट शक्तिबीच बलियो एकता हुन नसक्दा मुलुकमा वामपन्थी शक्तिहरू कमजोर बन्दै गएको उहाँको भनाइ थियो । कम्युनिष्ट शक्तिको विभाजन र आपसी मतभेदका कारण अन्य राजनीतिक शक्तिहरू प्रभावशाली बन्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो । “वस्तुगत परिस्थितिको सही ढङ्गबाट विश्लेषण गर्दै कम्युनिष्ट शक्तिबीच मजबुत एकता कायम गर्नु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी मधेस प्रदेशका इञ्चार्ज महेन्द्रराय यादव, नेकपा एमालेका नेता लीलानाथ श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नेताहरु जगरनाथ खतिवडा, रामचन्द्र झा, अजयशङ्कर नायक लगायतले राजनीतिक परिस्थितिमा वामपन्थी आन्दोलनको भूमिका, राजनीतिक दलबीचको सहकार्य तथा मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका विषयमा धारणा राख्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया