भाद्र १३, २०८३ शनिबार August 29, 2026

इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय

जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

क्विटो । जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उनलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ ।

मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष संलग्न भएको ठहर गरिएको हो । उनकी श्रीमती र छोरीसहित दुई भाइ तथा एक भिनाजुलाई पनि योजनामा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ । श्रीमती र छोरीलाई जनही ३० महिनाको जेल सजाय सुनाइएको छ ।

अदालतले दोषी ठहर गरिएका सबैलाई गैरकानुनी रूपमा प्राप्त रकमको तीन गुणा बराबर रकम ९० दिनभित्र फिर्ता गर्न आदेश दिएको छ ।

मोरेनो भ्रष्टाचार मुद्दामा जेल सजाय पाउने इक्वेडरका तेस्रो पूर्वराष्ट्रपति बनेका छन् । अभियोजकहरूका अनुसार सन् २००८ देखि २०१८ सम्म सञ्चालन भएको भ्रष्टाचार सञ्जालले चिनियाँ कम्पनी सिनोहाइड्रोले निर्माण गरेको परियोजनाको कूल मूल्यको चार प्रतिशत बराबर रकम घुसका रूपमा उठाएको थियो । उक्त रकम स्वदेश तथा विदेशमा भएका विभिन्न कारोबारमार्फत सरकारी अधिकारी र मोरेनोसहितका लाभग्राहीलाई वितरण गरिएको थियो ।

सिनोहाइड्रोले सन् २०१० मा करिब दुई अर्ब अमेरिकी डलरको कोका कोडो सिन्क्लेयर जलविद्युत् आयोजना निर्माण सुरु गरी २०१६ मा इक्वेडर सरकारलाई हस्तान्तरण गरेको थियो । संरचनागत कमजोरीका कारण उक्त आयोजना विवादमा परेको थियो ।

मोरेनो सन् २००७ मा कोरियाको नेतृत्वमा उपराष्ट्रपति बनेपछि राष्ट्रिय राजनीतिमा चर्चित भएका थिए। उनले २०१३ सम्म उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

सन् २०१७ मा मोरेनोले कोरियासँग सम्बन्धित ‘कोरेइस्टा’ आन्दोलनका उम्मेदवारका रूपमा राष्ट्रपतिको निर्वाचन जितेका थिए । उनका उपराष्ट्रपति जर्ज ग्लासले पछि पदबाट राजीनामा दिएको थिए र हाल भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका छन् ।  एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार
‘विपद्को समयमा सहकार्य र समन्वयबाट सरकारलाई सबैले साथ दिनुपर्छ’ : अध्यक्ष साम्पाङ
२०८३ भाद्र १३, शनिबार
बाढीपीडितको उद्धार र राहतमा तीव्रता दिन पूर्वप्रधानमन्त्री नेपालको आग्रह
२०८३ भाद्र १३, शनिबार
शिक्षक हत्या गरेको आरोपमा ११ जना प्रहरी नियन्त्रणमा
२०८३ भाद्र १३, शनिबार
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदीको निगरानी तीव्र
२०८३ भाद्र १३, शनिबार
पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने
२०८३ भाद्र १३, शनिबार
भोटेकोशी बाढीको शोकबीच सांस्कृतिक रूपमा मनाइयो गाईजात्रा
२०८३ भाद्र १३, शनिबार