काठमाडौं । अमेरिका र इरानबीचको युद्धका कारण आपूर्तिमा देखिएको समस्याका कारण नेपाली उपभोक्ता गत फागुनदेखि सास्ती खेपिरहेका छन् । नियमित रूपमा ग्यास नपाउँदा सर्वसाधारण घण्टौँ लाइनमा बस्ने बाध्यता अहिले पनि उस्तै छ । ग्यास डिपो तथा बिक्री केन्द्रमा उपभोक्ताको लामो भिड देखिन थालेको करिब ६ महिना भइसकेको छ । ग्यास आपूर्ति पर्याप्त रहेको सरकार र ग्यास उद्योगीको दाबी बजारसँग मेल खान सकेको छैन । ग्यास आउने निश्चित समय नहुँदा बिहानैदेखि लाइनमा बसेका उपभोक्ताले समेत खाली हात फर्किनुपर्ने अवस्था अहिले पनि उस्तै छ । त्यसमाथि गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको राष्ट्रिय विपत्ति र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरोले उपभोक्ता झन् समस्यामा परेका छन् ।
राष्ट्रिय विपत्तिको बेला आपूर्ति व्यवस्था सहज बनाएर आमनागरिकलाई उपभोक्ता राहत महसुस गराउनुपर्ने बेला आयल निगम र उद्योगीको मिलेमतोमा खाना पकाउने ग्यासको मूल्य बढाइएको छ । कृष्णभीरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको मिलेमतोमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १०५ रुपैयाँ ३८ पैसा बढाएका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघले गरेको निर्णयअनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार १६५ रुपैयाँ ३८ पैसा पर्नेछ । कृष्णभीरमा पहिरो गएका कारण वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा महँगो पर्न गएकाले त्यसको केही भार उपभोक्ताले तिर्नुपर्ने गरी निर्णय गरिएको संघको दाबी छ । आयल निगमसँगको सहमतिअनुसार ग्यास मूल्य बढाइएको उद्योगीहरूले बताएका छन् । उद्योगीले काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाडा बढाइएको जानकारी संघले दिएको छ । ग्यासको खरिद दर (रेट) बढेको नभई ट्रान्सपोर्टेसन कस्ट (ढुवानी लागत) बढेका कारण उपभोक्ता मूल्यमा वृद्धि भएको दाबी गर्दै नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले भन्नुभयो, ‘आयल निगमले हामीलाई काठमाडौंसम्मको भाडा नदिई तराईसम्मको मात्र भाडा दियो ।
५० किलोमिटरभन्दा बढी दूरीमा ग्यास ढुवानी गर्दा लाग्ने अतिरिक्त भाडा लिन पाउने निगमसँगकै सहमति र प्रावधानका आधारमा हामीले प्रतिसिलिण्डर १०५ रुपैयाँ बढाएका हौँ ।’ नेपाल एलपी ग्यास उद्योग संघको बिहीबार सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानी बापतको थप १०५ रुपैयाँ ३८ पैसा जोडेर दुई हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी नहुने गरी बिक्री–वितरण गर्न भनेको हो ।
आयल निगमका प्रमुखको गैरजिम्मेवारीपूर्ण तर्क : ‘मासुको तुलनामा ग्यास महँगो होइन’
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको आलोचनाको बचाउ गर्दै अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दाबी गर्नुभएको छ । उपभोक्ता, सांसद र उपभोक्ता अधिकारकर्मीहरूले मूल्यवृद्धिको चर्को विरोध गरिरहेका बेला कार्यकारी निर्देशक साहले मासुको मूल्यसँग ग्यासको तुलना गर्दै भन्नुभयो, ‘आज बजारमा एक किलो मासुलाई १७ देखि १८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ । तर, करिब २१ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ । यस विषयमा हामीले गम्भीर भएर सोच्ने कि नसोच्ने ?’
मूल्य बढाउनु बाध्यता : उद्योगी
नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको ढुवानीमा देखिएको समस्याका कारण लिइएको अतिरिक्त शुल्क उद्योगीको नाफा नभई बाध्यात्मक परिस्थितिको उपज भएको दाबी गर्नुभएको छ । बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुँदा वैकल्पिक र लामो मार्ग प्रयोग गर्नुपरेकाले ढुवानी खर्च बढेको दाबी गर्दै घिमिरेले भन्नुभयो, ‘यो शुल्क न उद्योगले लगाएको हो, न त उद्योगको खातामा आउने नै हो । यो रकम संस्थागत रूपमा नारायणी यातायात व्यवसायी संघमार्फत ढुवानीकर्तालाई भुक्तानी गरिन्छ । राज्यका साधन उपलब्ध गराउन सक्यो भने हामी यो शुल्क अहिले नै फिर्ता लिन्छौँ ।’
मूल्यवृद्धि तत्काल खारेज गर्न उपभोक्ता मञ्चको माग
राष्ट्रिय उपभोक्ता मञ्चले प्राकृतिक विपत्को समयमा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १०५ रुपैयाँ मूल्यवृद्धि गरिएको प्रति आपत्ति जनाउँदै तत्काल मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । विपत्को समयमा उद्योगी र नेपाल आयल निगमका पदाधिकारीमाथि उच्चस्तरीय छानविन गरी कारबाही गर्नुपर्ने र विपत्का बेला उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने मञ्चको माग छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी विज्ञप्तिमा रातारात कालोबजारी गर्ने नियतले दुःखी र पीडित उपभोक्ताको ढाड भाँचिने गरी गरिएको मूल्यवृद्धि हदैसम्मको अमानवीय, गैरजिम्मेवारीपूर्ण र निन्दनीय कार्य भएको उल्लेख छ । संकटको समयमा उपभोक्तालाई राहत दिनुपर्ने दायित्व बोकेको सरकारी निकाय नेपाल आयल निगम स्वयं उद्योगीहरूको नाफाखोर प्रवृत्ति र लुटतन्त्रमा मिलेमताको रमिते बनेको मञ्चको आरोप छ ।
व्यवसायीलाई अनुचित लाभ दिएको सत्तारूढ दलका सांसदको टिप्पणी
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले खाना पकाउने एलपी ग्यासको ढुवानी खर्चमा गरिएको वृद्धिको वैज्ञानिक आधारमाथि प्रश्न उठाउनुभएको छ । सांसद भण्डारीले नेपाल आयल निगमले विपत्को बहानामा व्यवसायीहरूलाई पोस्ने काम गरेको आरोपसमेत लगाउनुभएको छ । बजारमा अभाव देखिनुमा व्यवसायीहरूले ग्यास लुकाएको वा स्टक राखेको हुनसक्ने आशंका व्यक्त गर्दै सांसद भण्डारीले भन्नुभयो, ‘एक बुलेट ग्यासले करिब १२ सय ५० सिलिण्डर बोक्छ । बाटोको अवस्थाका कारण तीनवटा साना गाडीले सोही परिमाण बोक्नुपर्दा पनि ढुवानी खर्चमा यति ठूलो अन्तर कसरी आयो ? १०५ रुपैयाँ ३८ पैसा नै बढाइनुको वैज्ञानिक आधार के हो ? ५० लाख सिलिण्डर पुरानै मौज्दात रहेको अवस्थामा प्रतिसिलिण्डर १०५ रुपैयाँ मूल्य बढ्दा करोडौँ रुपैयाँको चलखेल भएको देखिन्छ । यस्तो बेलामा नियमनकारी निकाय टुलुटुलु हेरेर बस्न मिल्दैन ।’
ग्यास अभावले होटल/रेस्टुरेन्ट बन्द हुने अवस्थामा
लामो समयदेखि बजारमा ग्यास अभाव भएपछि काठमाडौं उपत्यकाका होटल-रेस्टुरेन्ट बन्द हुने अवस्थामा पुगेका छन् । एलपी ग्यास अभावले साना व्यवसायीका खाजा पसल र क्याफे सञ्चालन प्रभावित भएको छ । ठूला होटलहरूको अवस्था पनि उस्तै छ । ग्यास आपूर्ति नपाउँदा सेवा घटाएको र व्यवसाय संकटमा परेको उनीहरूको गुनासो छ । विगत दुई सातादेखि ग्यासको खोजीमा डिलर–डिलर भौँतारिए पनि पाउन नसकेको उनीहरूको भनाइ छ । ग्यास अभावले साना खाजाघर मात्र होइन, ठूला रेस्टुरेन्ट चेनहरूलाई समेत संकटमा पारेको छ । ठूला लगानीकर्ताहरू त राज्यको नीति र आपूर्ति व्यवस्थालाई लिएर सशंकित नै बनेका छन् । ग्यास अभावको तत्काल समाधान नखोजिए स्थितिले भयावह रूप लिनसक्ने व्यवसायीहरूको चेतावनी छ ।
बाहिरी जिल्लाबाट बोटलिङ गरी ढुवानी
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव हटाउन उद्योगीहरूले उपत्यका बाहिरका उद्योगमा ग्यास बोटलिङ गरी सिलिण्डर काठमाडौं ल्याउने व्यवस्था मिलाएका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिर रहेका उद्योगमा ग्यास बोटलिङ गरी सिलिण्डर ढुवानी गर्न अनुमति दिएपछि उद्योगीहरूले त्यसअनुसार काम अघि बढाएका हुन् । बाबा ग्यासले श्री ग्यासका सिलिण्डरमा बोटलिङ गरेर पठाउन थालेको छ । साईबाबाले आफ्नै सिलिण्डर काठमाडौं पठाएको छ । गैंडाकोटस्थित जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडास्थित साहारा ग्यासमा काठमाडौंको एभरेष्ट र सुगम ग्यास बोटलिङ गरी पठाइएको छ ।
बनेपास्थित सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाको लोकप्रिय, सुपर र तारा ग्यास लगायतले राजधानी बाहिरका विभिन्न उद्योगमा बोटलिङ गरी त्रिभुवन राजपथमार्फत सिलिण्डर पठाउन थालेका छन् । उपत्यका र आसपासका जिल्लामा १६ वटा ग्यास उद्योग रहेको संघले जनाएको छ । संघले सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिण्डर ग्यास आवश्यक पर्छ । अहिलेको अवस्थामा माग बढेर दैनिक एक लाख सिलिण्डरसम्म खपत हुने अवस्था बनेको छ । नेपालका ५८ वटा ग्यास उद्योगबाट उत्पादन हुने ग्यासमध्ये करिब ४० प्रतिशत उपत्यकामा खपत हुने गरेको छ । हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया