देवीघाट (त्रिशूली), भदौ २१ गते । त्रिशूली र तादी नदीको दोभानमा बसेको विदुर नगरपालिकाको देवीघाट बजारमा यतिबेला बगर मात्र बाँकी छ । धार्मिक तथा पर्यटकीय स्थल र व्यापारिक केन्द्रका रूपमा रहेको बजारमा अहिले सन्नाटा मात्र छ । करिब तीन सय घर रहेको बजारमा १०/१२ वटा मात्र बाँकी छन् । ती पनि बस्नयोग्य छैनन् । भदौ १० गतेको हिमबाढीले अधिकांश घर पुरेर बगर बनाएको छ ।
मृत्यु हुने त गइगए । हराएकाहरू भेटिने/नभेटिने टुङ्गो छैन । खोजी कार्य जारी छ । बाँचेकाको जीवन पनि निकै कष्टपूर्ण छ । उनीहरूले सबै गुमाएका छन् । बाँकी त सास मात्रै छ । “जायजेथा गुमाएर बाँच्न साह्रै गाह्रो हुँदो रहेछ,” देवीघाटका मानकाजी चित्रकारले भन्नुभयो, “डरले भागियो र बाँचियो तर सबै थोक गुमाएर घरवारविहीन भएर बाँच्नु पर्दा किन बाँचिएछ भन्ने मनमा लागिरहन्छ । केही पनि छैन कसरी बाँच्ने ?”
देवीघाटका कान्छा चित्रकारका खुट्टा बाढीको छालले भेटाइसकेको थियो । दौडेर बाँच्न सफल हुनुभयो । उहाँले परिवारको सदस्य गुमाउनु चाहिँ परेन । देवीघाटमा रहेको उहाँको दुई तलाको घरमाथि अहिले त्रिशूली बगिरहेको छ । उहाँले भन्नुभयो, “ज्यानको कपडाबाहेक अरू केही पनि जोगाउन सकिएन । धन्न बाँचियो । परिवार पनि बच्यो तर अब कसरी बाँच्ने त्यही पिरलो छ । घर छैन, एक हजार कुखुरा रहेको फार्म सबै बगायो । त्यही कुखुरापालन गरेर परिवार पालेको थिएँ ।” अहिले उहाँको परिवार देवीघाटनजिकै पिपलटारको चन्द्रज्योति माध्यमिक विद्यालयमा बस्नुभएको छ । खानपिन र राहतको व्यवस्था भएको छ ।
देवीघाट बजारमा कान्तिपुर सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका केदार सुनारको अवस्था पनि कान्छा चित्रकारको भन्दा फरक छैन । दुई तलाको घरमाथि अहिले बगर छ । पसलमा काम गरिरहेका सुनार बाढी आयो भन्ने होहल्ला सुनेपछि डाँडातिर भाग्नुभएको थियो । परिवारको सदस्य त गुमाउनु परेन तर उहाँले भन्नुभयो, “पसलमा करिब २५ तोला सुन थियो । घरसम्पत्ति केही पनि जोगिएन । पाँच जनाको परिवार हो । बाँचेर पनि बाँचे जस्तो भएन । झन् पीर हुँदो रहेछ । त्यहाँ बस्न सक्ने अवस्था छैन कहाँ जाने ।”
मानकाजी चित्रकार श्रीमती र आफू भाग्न सफल हुनुभयो, तर जीवनभर जोगाएर राखेको घरसम्पत्ति जोगिएन । पाँच आनाको घर र तीन रोपनी जग्गा बगर भएको छ । घरमा १० तोला सुन थियो । स्कुलको कोठामा टोलाएर बसेका चित्रकारले भन्नुभयो, “यति ठुलो बाढी आउला भनेर कसैले सोचेको थिएन, सबै सम्पत्ति गयो । यो बुढेसकालमा मागेर खानुपर्ने अवस्था आयो । चाउचाउ र चिउरा लिएर आउने मान्छेको ओइरो छ । कहिलेसम्म दिने हुन खोइ ! राहतभन्दा पनि बसोबासको व्यवस्था भइदिए हुन्थ्यो ।”
बाढी प्रभावित परिवार सबैको बेहाल छ । परिवार गुमाएका छन् । घरवारविहीन भएका छन् । परिवार बेपत्ता छन् । हराएका नभेटिँदा बाँचेका निकै त्रास र बेचैन छन् । ढुङ्गे बजारमा बसोबास गर्दै आएका राजेश तामाङका छोरा पूर्ण तामाङ अहिलेसम्म भेटिनुभएको छैन । उहाँले भन्नुभयो, “१४ वर्षको छोरा हराएको अहिलेसम्म भेटिएको छैन । घरसम्पत्ति सबै बगायो । भेटिन्छ कि भनेर उज्यालो हुनासाथ खोलातिर जान्छौँ । रुँदारुँदै श्रीमती बेहोस् हुन्छ । खान त पाएका छौँ । अरूकै घरमा बास लिएका छौँ ।”
हराएकाको परिवार खोजी गरिदिन भन्दै नेपाली सेनाको तालिम केन्द्र बट्टारमा लाइन घटेको छैन । भित्तामा टाँसिएका नाम र फोटो हेर्नेको भिड पनि उत्तिकै छ । तालिम केन्द्रको प्रवेशद्वारमा हराएका परिवारको रुवाबासी घटेको छैन । नुवाकोट बेलकोटगढी–१२, मदानपुरका ५३ वर्षीय टङ्कबहादुर मगर ३५ वर्षीय छोरा सुमन मगर हराएको भन्दै नाम टिपाउनेको लाइनमा रुँदै भन्नुभयो, “छोरो गाडी लिएर रसुवा जाँदै थियो । ड्राइभर हो । मर्दो जिउँदो थाहा भएन । बर्बाद भयो बुढेसकालको साहरा जे भने पनि त्यही छोरो हो । अब कल्ले खान दिन्छ । कसरी बाँच्नु ।”
विदुर नगरपालिकाका अनुसार देवीघाट र आसपासको ढुङ्गे बजारक्षेत्रका ८० प्रतिशतभन्दा बढी घर, पसलमा पूर्ण क्षति पुगेको छ । देवीघाटको अधिकांश भौतिक संरचना, होटेल, रेस्टुरेन्ट र घरहरू केही पनि बाँकी छैनन् । भोटेकोशी बाढीबाट एक हजार २५३ भन्दा बढी घर नष्ट भएका छन् । नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले भन्नुभयो, “क्षतिको त कुनै सीमा नै छैन । हराएकाको खोजी उद्धार र बाँच्न सफल भएकालाई सेल्टरमा राखेर खानपानको व्यवस्था भइरहेको छ । राहत वितरण पनि सुरु गरेका छौँ । घाइतेको उपचारका कुरा छन् । वेत्रावती, ढुङ्गे, देवीघाटलगायतका बस्ती नै सार्नुपर्ने अवस्था छ, थाहा छैन कहाँ सार्नुपर्ने हो ? बाँचेकाको जीवन पनि कष्टकर छ । यो महाविपत्तिलाई सामान्यतर्फ लैजाने काम गरिरहेका छौँ ।”गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया