भाद्र २३, २०८३ मंगलबार September 8, 2026

‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी

बाढी, पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही, २२ भदौः भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन (कुकुर) टोलीलाई परिचालन गरेको छ ।

बाढी, पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितवनलगायतका स्थानमा प्रहरीले केनाइन टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जनाएको छ ।

रसुवामा जर्मन सेफर्ड ‘जम्बो’ र बेल्जियन सेफर्ड ‘रक्की’, नुवाकोटमा ल्याब्राडोर ‘लियो’ र ‘कालु’ तथा चितवनमा जर्मन सेफर्ड ‘दिप्सी’लाई खोजीकार्यमा परिचालन गरिएको छ ।

प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले भग्नावशेष, माटो तथा हिलोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन केनाइनको प्रयोग प्रभावकारी हुने बताउनुभयो । “केनाइनको प्रयोगबाट छोटो समयमा ठूलो स्थानमा खोजी गर्न सकिने भएकाले विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई थप छिटो र प्रभावकारी बनाउन सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “उद्धारकर्मी तथा उपकरण पुग्न कठिन हुने स्थानमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग अझ प्रभावकारी हुन्छ ।”

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले विपद्का बेला हराइरहेका व्यक्तिको खोजीमा प्रविधिसँगै तालिमप्राप्त जनशक्ति र केनाइनको संयोजनले थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँका अनुसार बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको भौगोलिक अवस्था, माटोको गहिराइ, पानी, हिलो तथा भग्नावशेषको अवस्थाले खोजीकार्यमा चुनौती सृजना गरे पनि उपलब्ध स्रोतसाधनको अधिकतम् प्रयोग गरिएको छ ।

नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण बस्नेतका अनुसार लगातार खोजी गर्दा कुकुरको क्षमतामा असर पर्न सक्ने भएकाले निश्चित समय काम गराएपछि विश्राम दिने गरिएको छ ।

“केनाइनलाई सामान्यतः करिब ३० मिनेट खोजीकार्यमा लगाएपछि १५ देखि २० मिनेटसम्म विश्राम दिने गरिन्छ”, उहाँले भन्नुभयो, “दलदले हिलो, रातको समयमा अपर्याप्त प्रकाश तथा ठूलो क्षेत्रफलमा खोजी गर्नुपर्ने अवस्थाले चुनौती थप्ने गरेको छ ।”

नेपाल प्रहरी केनाइन कार्यालयबाट खटिएको टोलीले रसुवाको टिमुरे, घट्टेखोलालगायतका क्षेत्रमा खोजी तथा उद्धार गरेको थियो । उक्त टोलीले टिमुरेबाट दुई शव तथा एक शारीरिक अङ्ग फेलापारेको थियो ।

त्यसैगरी, नुवाकोटको विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, ढुङ्गे, देवीघाट, बेत्रावती, भैँसे, बट्टारलगायतका क्षेत्रमा पनि केनाइनसहितको टोली परिचालन गरिएको थियो । मैलुङ हाइड्रोपावरको कर्मचारी आवासबाट शारीरिक अङ्ग तथा बट्टारस्थित सोलार हाउसबाट हत्केलाको भाग फेलापरेको प्रहरीले जनाएको छ ।

केनाइन शाखाबाट खटिएको टोलीले नारायणी पुल आसपास, देवघाट तथा दमौली–गोलघाट क्षेत्रमा समेत खोजी गरेको थियो । सो टोलीले दमौली–गोलघाट क्षेत्रबाट दुई शव फेला पारेको थियो ।

भौगोलिक जटिलता तथा प्रतिकूल मौसमका कारण केनाइनको प्रयोगमा समेत चुनौती रहने गरेको प्रहरीको भनाइ छ । अत्यधिक गहिरो वा बाक्लो माटोमा गन्ध पहिचान गर्न कठिन हुने तथा हावा, पानी, तापक्रम र वातावरणीय प्रदूषणले समेत कुकुरको गन्ध पहिचान क्षमतामा असर पार्न सक्छ ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले केनाइनसहितका जनशक्ति परिचालन गरी खोजीकार्यलाई निरन्तरता दिइरहेको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोगको एक करोड एक लाख रुपैयाँ सहयोग
२०८३ भाद्र २३, मंगलबार
सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि
२०८३ भाद्र २३, मंगलबार
राप्ती लोकमार्गको सल्यान-दाङ सडकखण्ड १३ घण्टापछि सुचारु
२०८३ भाद्र २३, मंगलबार
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की
२०८३ भाद्र २३, मंगलबार
President Paudel Offers Special Prayers at Pashupatinath for the Welfare of the Nation and People
२०८३ भाद्र २३, मंगलबार
नवलपरासीको सुस्तामा भन्सार छलेर भारत लैजान लागिएका ८सय १ थान शालग्राम बरामद
२०८३ भाद्र २३, मंगलबार
शहीदहरूको सपना र उपलब्धि जोगाउन नयाँ सङ्कल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड
२०८३ भाद्र २३, मंगलबार