काठमाडौंः सङ्गठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ का नरेश मेचे छन । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।
विसं २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाल (विन्दल)लाई बजरङ्ग पन्सारी (अग्रवाल) र मेचेसहितको समूहले अपहरण गरेको थियो ।
विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाण्डौं महानगरपालिका-२९ गोङ्गबुस्थित होटल काठमाडौँ इनबाट मेचेलाई आइतबार पक्राउ गरी आवश्यक कारवाहीका लागि आज जिल्ला प्रहरी कार्यालय झापा पठाएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले जानकारी दिए ।
उनीहरुले अग्रवाललाई एम्बुलेन्समा हालेर हर्कबहादुर कन्दका घरमा पुर्याइ बन्धक बनाएका अवस्थामा सोही साल माघ २३ गते उद्धार गरेको थियो । सो क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा एक प्रहरीसमेत घाइते भएका थिए । संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योगमा उनीहरु विरुद्ध मुद्दा दर्ता भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया