भाद्र २३, २०८३ मंगलबार September 8, 2026

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने

महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत असोज १ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा । जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ । पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जस्थित टाउन हलमा आयोजना हुने तय भएको पार्टीका पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिनुभयो ।

महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यसहित सम्पूर्ण पदका लागि असोज १ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ ।

समय तालिकाअनुसार जिल्लाबाट मनोनीत गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको विवरण भदौ २८ गते आइतबारसम्म केन्द्रमा आइपुग्नुपर्नेछ । त्यसपछि भदौ २९ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने भदौ ३० गते मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ । भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने अध्यक्ष सर्राफले जानकारी दिनुभयो ।

महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत असोज १ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । असोज २ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने असोज ३ गते उम्मेदवारमाथि दाबी विरोधको समय तोकिएको छ ।

असोज ४ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् भने असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । महाधिवेशनअघि असोज ९ गते शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने कार्यक्रम रहेको अध्यक्ष सर्राफले जानकारी दिनुभयो ।

असोज १० गते शनिबार महाधिवेशनसँगै मतदान सम्पन्न गरी असोज ११ गते मतगणना तथा परिणाम घोषणा गरिने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया