काठमाडौं । काठमाडौँको चाबहिलस्थित धोबिखोलामा खसेका ३१ वर्षीय एक युवकलाई लायन्स क्लब अफ काठमाडौँ गोंगबुका अध्यक्ष अञ्जन श्रेष्ठ र प्रहरीले समयमै उद्धार गरेका छन्।
मंगलबार अपरान्ह सवा २ बजे चाबहिलस्थित टोयटा पार्क नजिकैबाट धोबिखोलामा खसेका सुनसरीको धरान उपमहानगरपालिका–१४ घर भई हाल धुम्बाराही बस्दै आएका ३१ वर्षीय कैलाश रसाईलीलाई अध्यक्ष श्रेष्ठ र प्रहरीको सक्रियतामा खोलाबाट उद्धार गरिएको हो।
रसाईली खोलातर्फ पुगेको देखेपछि लायन्स क्लब अफ काठमाडौँ गोंगबुका अध्यक्ष श्रेष्ठ तत्काल उद्धारमा खटिएका थिए। उनले प्रहरीसँग समन्वय गरी खोलामा खसेका रसाईलीलाई उद्धार गरेका हुन्। स्थानीयको समेत सहयोगमा गरिएको प्रयासपछि रसाईलीलाई खोलाबाट बाहिर निकालिएको बताइएको छ।
उद्धारपछि रसाईलीलाई उपचारका लागि ओम अस्पताल पठाइएको छ। समयमै घटनाबारे जानकारी पाएर अध्यक्ष श्रेष्ठ र प्रहरी उद्धारमा सक्रिय भएकाले उनको ज्यान जोगाउन सफल भएको बताइएको छ।
यसैबीच, रसाईली खोलामा खसेको घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा उनले ग्यास नपाएको भन्दै खोलामा हामफालेको दाबी गरिएको छ। यद्यपि, घटनापछि अध्यक्ष श्रेष्ठले तत्काल उद्धारमा सक्रियता देखाउँदै प्रहरीसँग समन्वय गरेका थिए। मानवीय सेवामा सक्रिय लायन्स क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठले विपद् वा आकस्मिक घटनामा तत्काल उद्धार र सहयोग आवश्यक हुने बताए।
धोबिखोलामा खसेका रसाईलीलाई समयमै उद्धार गरिएपछि थप जोखिम हुनबाट जोगिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया