काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालले अब अन्तर्राष्ट्रिय समुदायसँग राहत मात्र नभई जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायसहित क्षतिपूर्ति माग्नुपर्ने बताउनुभएको छ ।
रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा संकलित राहत सामग्री सार्वजनिक गर्ने कार्यक्रममा मंगलवार बोल्दै मुख्यमन्त्री यादवले जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने विकसित मुलुकका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपत्तिको मार खेप्नुपरेको बताउनुभएको हो ।
उहाँले चीन, भारत र अमेरिकाजस्ता मुलुकको ठूलो कार्बन उत्सर्जनको असर नेपालले बाढी, पहिरो, हिमताल पग्लिने लगायतका विपत्तिका रूपमा भोगिरहेको दाबी गर्नुभयो । मुख्यमन्त्री यादवले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउनुपर्ने भन्दै संघीय सरकारलाई समेत त्यसका लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँकाअनुसार जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षतिको उचित क्षतिपूर्ति दिलाउन अन्तर्राष्ट्रिय समुदायसँग गम्भीर छलफल आवश्यक छ । मुख्यमन्त्री यादवले भोटेकोशी बाढी आएको दिन नै प्रदेश सरकारले राहतका लागि प्रारम्भिक निर्णय गरेको जानकारी दिनुभयो । प्रदेश सरकारका मन्त्री तथा कर्मचारीको एक दिनको तलव प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उहाँले बताउनु भयो ।
उहाँकाअनुसार दोस्रो चरणमा करिव दुई करोड रुपैयाँ बराबरको टेन्ट तथा कम्बल बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ । तेस्रो चरणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री पठाउने योजना प्रदेश सरकारको रहेको उहाँले बताउनु भयो । यसअघि मधेस प्रदेश सरकारले भोटेकोशी तथा त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि करिव एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको थियो । बाढी प्रभावित परिवारका लागि जनकपुरधाम उद्योग वाणिज्य संघले खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, कम्बल, भाँडाकुँडा लगायतका सामग्री संकलन गरेको छ । संकलित सामग्रीमा चामल, दाल, नुन, चिउरा, मुरही, चाउचाउलगायत खाद्य सामग्रीका साथै तावा, कराही, थाली, कचौरा र गिलाससमेत छन् ।
मुख्यमन्त्री यादवले विपद्को समयमा जनकपुरधामका उद्योगी, व्यवसायी तथा नागरिकले देखाएको मानवीय सहयोगको प्रशंसा गर्दै राहत सामग्री वास्तविक पीडितसम्म न्यायोचित रूपमा पु¥याउन आग्रह गर्नुभयो । नेपालले पटक–पटक प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्नुपरेको उल्लेख गर्दै उनले विपद्को समयमा सबै क्षेत्र र समुदाय एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री यादवले अन्त्यमा देशमा शान्ति, अमनचयन र नागरिकको भविष्य सुरक्षित होस् भन्दै माता जानकीसँग प्रार्थना समेत गर्नुभयो ।
संघले संकलन गरेको राहत सामग्रीमा ७५ बोरा चामल, २१ बोरा सोयाबिन, दाल, नुन, चुरा, मुरही, चाउचाउ लगायतका खाद्य तथा आवश्यक सामग्री रहेका छन् । यस्तै, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ताचप्पल, कम्बल, बेडसिट, टावेल तथा बालबालिकाका कपडासमेत संकलन गरिएको छ । बाढी प्रभावित परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ७५ थान तावा, ७५ थान कराही, २०० थान थाली, २०० थान कचौरा, २०० थान गिलासलगायतका भान्सामा प्रयोग हुने सामग्री समेत रहेका छन् । राहत सामग्रीमा एक थान सिलाई मेसिनसमेत रहेको छ । विपद्को समयमा पीडित परिवारलाई केही भएपनि राहत पु¥याउने उद्देश्यले व्यवसायी, सहयोगी तथा विभिन्न संघसंस्थाको सहकार्यमा राहत सामग्री संकलन गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघले गठन गरेको राहत संकलन समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिनुभयो ।
उहाँले राहत सामाग्री पीडित परिवारसम्म नपुगेसम्म अभियान जारी नै रहने बताउनु भयो । राहत सामाग्री लिएर बुधवार बिहान बाढी प्रभावित क्षेत्रमा संघको टोलि निस्किएको छ ।–न्युज एजेन्सी नेपाल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया