काठमाण्डौं । यमनको रियाद–समर्थित सरकारी फौजले शनिबार रणनीतिक लाल सागरस्थित सहर ‘मोचा’ मा इरान–समर्थित हुथी लडाकुहरूमाथि प्रहार गरेको जनाएको छ ।
एक साता लामो आक्रमणपछि, हुथीहरूले शुक्रबार यमनको लाल सागर तटीय क्षेत्र कब्जा गरेको बताइएको छ । यससँगै उनीहरूले ‘बाब अल–मान्दब जलसन्धि’ मा आफ्नो पकड बलियो बनाएका छन् अमेरिका–इरान युद्धका कारण ‘हर्मुज जलसन्धि’ बन्द रहेको अवस्थामा साउदी अरबको तेल निर्यातका लागि यो जलसन्धि एक महत्त्वपूर्ण मार्ग बनेको छ ।
सरकारी समाचार संस्था ‘साबा’ का अनुसार, सशस्त्र फौजले मोचा सहरको बन्दरगाह नजिकै इरानी शासनको समर्थन प्राप्त हुथी विद्रोही समुह मिलिसियाका सवारीसाधन र हतियारहरू नष्ट गर्नुका साथै उनीहरूका सदस्यहरूको हत्या गरेका छन् ।
साबाका अनुसार, यमनी सरकारी फौजका प्रवक्ता माजिद अब्दुल्लाह अल–नाजिलीले उनीहरूले सहरबाट–११ किलोमिटर टाढा रहेको मोचा–धुबाब सडकमा पनि हुथीहरूको सवारीसाधन र सदस्यहरू माथि प्रहार गरेका छन् ।
नाजिलीले शुक्रबार मोचाका विभिन्न क्षेत्रमा गोलाबारी सुरु गरिएको जानकारी दिँदै नागरिकहरूलाई ताइज–मोचा र मोचा–धुबाब सडक प्रयोग नगर्न आग्रह गर्नुभएको छ ।
हुथीहरूले बिहीबार मोचामाथि नियन्त्रण कायम गरेका भने उनीहरूको आक्रमणका कारण धेरै मानिसहरू भागेर ’एडेन’ पुगेका छन्, जहाँ अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको मुख्यालय रहेको छ ।
शुक्रबार, हुथी सञ्चारमाध्यमले साउदीको दुईवटा प्रहार मोचाको विमानस्थलमा लागेको जनाएका छन भने स्थानीय अधिकारीले सहरको समुद्री बन्दरगाहमा अज्ञात स्रोतबाट आएका छ वटा क्षेप्यास्त्र प्रहार भएको बताउनुभयो ।
दुवै पक्षका स्रोतहरूका अनुसार, गत साता सुरु भएको हुथी आक्रमणमा ५०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
संयुक्त राष्टसङ्घको आप्रवासन निकायले शुक्रबार जनाएअनुसार, यस आक्रमणका कारण करिब ४६, हजार मानिसहरु विस्थापित भएका छन् । यो यमनको गृहयुद्धमा पुनः सुरु भएको शत्रुताको एक हिस्सा हो, जुन सन् २०१४ मा उक्त समूहले राजधानी साना नियन्त्रणमा लिएसँगै सुरु भएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया