असोज २, २०८३ शुक्रबार September 18, 2026

विश्वासपात्रले नै साथ छाडेपछि घट्दै देउवाको शक्ति

संस्थापन इतरपक्षमा रहनुभएका नेता डा. शेखर कोइराला समूहभित्र महाधिवेशनमा सहभागी हुनुपर्ने दबाब बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ । कांग्रेसको १४औँ महाधिवेशनमा बलियो पकडसहित दोस्रो कार्यकाल पार्टी सभापति बन्नुभएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक जीवनको उत्तरार्धमा एक्लिँदै जानुभएको छ । गत वर्ष भदौमा भएको ‘जेन-जी’ आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिसँगै सुरु भएको देउवाको राजनीतिक ओरालो यात्रा निरन्तर जारी छ । ‘जेन-जी’ प्रदर्शनका क्रममा स्वयं देउवा आफ्नै निवासमा सांघातिक आक्रमणमा पर्नुभएको थियो । लामो समय विदेशमा स्वास्थ्य उपचार गरेर साउन २८ गते स्वदेश फर्किनुभएका देउवाको राजनीतिक पुनरागमन हुने चर्चा चलेको थियो । तर, आफ्नै विश्वासपात्रले साथ छोड्न थालेपछि देउवाको राजनीतिक भविष्य थप संकटमा परेको छ ।

गत वर्ष पुषमा विशेष महाधिवेशनपछि पार्टी नेतृत्वमा गगन थापा पुगेको र देउवाले समानान्तर महाधिवेशनको नीति लिएपछि विश्वास पात्रहरूले नै साथ छाडेका छन् । विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापालाई स्वीकार नगर्ने अडान कायम राखेपछि निवर्तमान संस्थापन पक्षका नेताहरूले पुरानो समूह छाड्नेक्रम तीव्र बनेको छ ।

१४औँ महाधिवेशनपछिको देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन भएपछि बिहीबार नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्यो । गत पुसको विशेष महाधिवेशनमा सहभागी नरहेका नेपाली कांग्रेसका निवर्तमान सभापति देउवानिकट धेरै नेताहरू वडा अधिवेशनको संघारमा सानेपास्थित केन्द्रीय कार्यालय फर्किंदा निकै चहलपहल भयो । हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनका केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनको केन्द्रीय सदस्यबराबर हैसियत दिने निर्णय गरेको थियो । त्यसपछि बिहीबार पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । देउवानिकट ५१ जना नेताहरू सानेपा फर्कंदा केन्द्रीय कार्यालयमा नेताकार्यकर्ताहरूले अंकमाल र खुसियालीसमेत गरेका छन् ।

निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, रामहरि खतिवडा, नैनसिंह महर, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, मदनकृष्ण श्रेष्ठ, राधा घले, गोविन्द भट्टराई, जिपछिरिङ लामा, ईश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति विक परियार, गणेश लामा र डा. शेखर कोइरालाको समूहमा रहनुभएकी किरण यादव पनि केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएको छ । यस्तै, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठोर, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे, उमेश श्रेष्ठ, सीता गुरुङ लगायतका नेता पनि गगन थापा नेतृत्वको संस्थापनतर्फ लागेका छन् ।

संस्थापन इतरपक्षमा रहनुभएका नेता डा. शेखर कोइराला समूहभित्र महाधिवेशनमा सहभागी हुनुपर्ने दबाब बढ्दै गएको छ । कोइरालाको पक्षमा रहनुभएका पूर्वउपसभापति धनराज गुरुङ, पूर्व-सदस्यहरू दीपक गिरी, कृष्णचन्द्र नेपाली, चन्द्रमोहन यादव, रुक्मणि कोइराला, टेकप्रसाद गुरुङ सानेपातिर जाने निश्चित भएको छ । शेखर पक्षमा रहेका तत्कालीन सहमहामन्त्री बद्री पाण्डे, तत्कालीन सदस्य बलबहादुर केसी, मीनेन्द्र रिजाल, सरिता प्रसाईं, सञ्जय गौतमसमेत छलफलमा रहेको बताइएको छ ।

पूर्वउपसभापति धनराज गुरुङ महाधिवेशनमा भाग लिन स्याङ्जामा

नेपाली कांग्रेसका निवर्तमान उपसभापति धनराज गुरुङले पनि शेखर कोइरालाको साथ छोड्नुभएको छ । गुरुङ पार्टीको वडा महाधिवेशनमा सहभागी हुन गृहजिल्ला स्याङ्जा पुग्नुभएको छ । १४औँ महाधिवेशनमा गुरुङ शेखर कोइराला प्यानलबाट निर्वाचित हुनुभएको थियो । सोही प्यानलबाट महामन्त्री जित्नुभएका गगन थापा अहिले पार्टी सभापति हुनुहुन्छ । विशेष महाधिवेशनमा सहभागी नहुनुभएका गुरुङ अन्ततः गगन थापा नेतृत्वको पार्टी मूलधारमा फर्किनुभएको हो ।

१५औँ महाधिवेशन देउवाबाट उद्घाटन गर्न तयार छौँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यही असोज १६ गते हुने पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । देउवाले अधिवेशनको उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने उल्लेख गर्दै सभापति थापाले भन्नुभयो, ‘श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, अधिवेशन उद्घाटन गरिदिने कुरा हाम्रो लागि सम्मानको विषय हुन्छ । पूर्व–सिनियर नेतालाई पनि अधिवेशनमा सहभागी भइदिनु हुन आग्रह गर्छु ।’ बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्नेक्रममा सभापति थापाले पार्टी विधानले पनि अब देउवालाई सभापति बन्न नदिने स्मरण गराउँदै भन्नुभयो, ‘पार्टीको विधानले पनि त्यही भन्छ । उहाँ अब पार्टीको सभापति बन्ने होइन । असोज १६ गते खुलामञ्चमा अधिवेशन प्रारम्भ गर्छौं । ३ र ४ गते वडा अधिवेशन हुन्छ । त्यसपछि बीचमा नगरको अधिवेशन हुन्छ । त्यसपछि बीचमा नगर अधिवेशन हुन्छ । जिल्ला र प्रदेशको अधिवेशनका लागि हामीसँग चाप रह्यो । पार्टीका साथीहरूसँग थप छलफल गर्ने वातावरण बन्छ भन्ने पनि हो । सकेसम्म पार्टीको एकताका लागि हामी उभिनुपर्छ ।’ सबैलाई समेट्नका लागि आफूले आवश्यक लचकता अपनाउने उल्लेख गर्दै सभापति थापाले भन्नुभयो, ‘मेरो तर्फबाट गर्ने कुराहरू गर्न तयार छु । अरू केमा लचकता अपनाउनुपर्ने हो, के मिलाउनुपर्ने हो, तयार छु । कोही पनि साथी अलमलमा नरहनुहोला ।’

तीखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन आग्रह

कांग्रेस सभापति गगनकुमार थापाले पार्टी जीवनमा कहिलेकाहीँ ठेस लाग्ने उल्लेख गर्दै बोल्दै गर्दा भएका तीखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन आग्रह गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार समायोजनपछिको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भन्नुभयो, ‘मैले कहिलेकाहीँ बोल्दै गर्दा कसैको बारेमा तीखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तीखो टिप्पणी गरेको होला । हामी कहिल्यै पनि त्यो कुरालाई व्यक्तिगत रूपमा लिने गरेको छैनौँ । हाम्रो पार्टी दाइभाइवाला पार्टी हो । हाम्रो पार्टी परिवार हो । एउटै परिवार हो । परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ । मबाट पनि भयो होलान्, अरू साथीहरूबाट पनि भए होलान् । यी सामान्य कुरा हुन् । यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लाने कुरा हो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया