काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा २८ वर्ष पूरा गरेको यती एयरलाइन्सले पछिल्लो एक वर्षमा नौ लाख यात्रुलाई सेवा प्रदान गरेको छ । कम्पनीका अनुसार पछिल्लो एक वर्षमा नौ लाख यात्रुलाई सेवा दिन सक्नु कम्पनीको व्यावसायिक उपस्थितिसँगै नेपाली यात्रुमाझ रहेको निरन्तर विश्वासको महत्त्वपूर्ण सूचक हो ।
बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा र यात्रुको अपेक्षालाई ध्यानमा राख्दै यतीले सेवा गुणस्तर र सञ्चालन दक्षतामा निरन्तर सुधार गर्दै आएको छ ।
सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध तथा सडक यातायातसँगको प्रतिस्पर्धाजस्ता विषयले वायुसेवा व्यवसायमा प्रभाव पार्दै आएका छन् । उल्लेखित अवस्थाका बाबजुद पनि एक वर्षमा लाखौं यात्रुलाई सेवा दिनु महत्त्वपूर्ण व्यावसायिक उपलब्धि भएको कम्पनीले जनाएको छ । यात्रु संख्या व्यवसायको एउटा महत्त्वपूर्ण सूचक भए पनि कम्पनीले आफ्नो सफलतालाई केवल यात्रु संख्यामा सीमित नगरी यात्रु अनुभव, सेवा विश्वसनीयता, सञ्चालन दक्षता र दीर्घकालीन ग्राहक सम्बन्धसँग जोडेर हेर्दै आएको जनाएको छ ।
वायुसेवा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा यात्रुका लागि भाडादरका साथै बुकिङको सहजता, विमानस्थल सेवा, सूचना प्रवाह, कर्मचारीको व्यवहार, समय व्यवस्थापन तथा समग्र यात्रु अनुभव पनि महत्त्वपूर्ण बन्दै गएको कम्पनीको भनाइ छ । सोही पक्षलाई ध्यानमा राख्दै यतीले टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने प्रयास गर्दै आएको जनाएको छ ।
यती एयरलाइन्सले विभिन्न प्रमुख शहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत् जोड्दै आएको छ । आगामी दिनमा यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता अभिवृद्धि, डिजिटल प्रविधिको प्रयोग तथा ग्राहक अनुभव थप सहज बनाउने विषय प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया