असोज ८, २०८३ बिहिबार September 24, 2026

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

अर्जेन्टिनामा माल्भिनास नामले चिनिने फकल्यान्ड टापु आफ्नो देशका लागि राष्ट्रिय मुद्दा भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्त राष्ट्रसङ्घ, ८ असोज : अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले बेलायतसँग विवादित फकल्यान्ड टापुमाथि आफ्नो देशको सार्वभौमिकताको दाबी दोहोर्‍याउँदै विवादको शान्तिपूर्ण समाधानका लागि वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ । उहाँले अर्जेन्टिनामा माल्भिनास नामले चिनिने फकल्यान्ड टापु आफ्नो देशका लागि राष्ट्रिय मुद्दा भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै मिलेईले विवाद समाधान नभएसम्म एकपक्षीय परिवर्तन नगर्न आह्वान गर्ने अन्तर्राष्ट्रिय प्रस्ताव कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घ असफल भएको आरोप लगाउनुभयो । उहाँले बेलायतलाई सार्वभौमिकता विवाद समाधानका लागि वार्तामा फर्कन आग्रह गर्नुभयो ।

मिलेईले माल्भिनासको विषय अर्जेन्टिना र बेलायतबीचको विवादमा मात्र सीमित नरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले आफ्नै प्रस्ताव कार्यान्वयन गर्न सक्ने क्षमता पनि यसबाट परीक्षण भइरहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको भूमिकाको आलोचना गर्दै विवादमा पर्याप्त पहल नगरेको आरोपसमेत लगाउनुभयो ।

फकल्यान्ड विवाद पछिल्ला दिनमा समुद्री क्षेत्रमा तेल उत्खननसँग जोडिएर थप चर्किएको छ । अर्जेन्टिनाले यसै महिनाको सुरुआतमा फकल्यान्ड वरपरको समुद्री क्षेत्रमा तेल उत्खनन परियोजनासँग सम्बन्धित ६० भन्दा बढी कम्पनी तथा व्यक्तिविरुद्ध प्रतिबन्ध प्रक्रिया अघि बढाएको थियो । गत साता मिलेई सरकारले अर्जेन्टिनाको अनुमति बिना प्राकृतिक स्रोतको उपयोग गर्नेहरूमाथि कडा कारबाही गर्ने व्यवस्था समेटिएको विधेयक पनि संसद्मा पेस गरेको थियो ।

यसैबीच, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले फकल्यान्ड टापुका बासिन्दाको आत्मनिर्णयको अधिकार र बेलायती रहिरहने अधिकारको रक्षा गर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मङ्गलबार भएको भेटपछि उहाँले कुनै पनि खतराको सामना गर्न बेलायत दृढ रहने बताउनुभएको थियो ।

सन् १९८२ मा अर्जेन्टिनाले तत्कालीन सैन्य शासनअन्तर्गत फकल्यान्डमा आक्रमण गरेपछि बेलायतले सैन्य कारबाही गरी टापुमाथि पुनः नियन्त्रण कायम गरेको थियो । ७३ दिन चलेको युद्धमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिक मारिएका थिए ।

दक्षिण अटलान्टिकमा अर्जेन्टिनाको तटबाट करिब ४८० किलोमिटर पूर्वमा रहेको फकल्यान्ड टापुमा करिब तीन हजार ५०० मानिस बसोबास गर्छन् । सन् १८३३ देखि बेलायती नियन्त्रणमा रहेको यस टापुलाई अर्जेन्टिनाले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ । सन् २०१३ को जनमतसङ्ग्रहमा अधिकांश टापुवासीले बेलायती विदेशी भूभागकै रूपमा रहन समर्थन गरेका थिए । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
२०८३ असोज ८, बिहिबार
सेनाको सर्पदंश उपचार केन्द्रबाट एक हजार दुई सयभन्दा बढी लाभान्वित
२०८३ असोज ८, बिहिबार
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
२०८३ असोज ८, बिहिबार