असोज ९, २०८३ शुक्रबार September 25, 2026

प्रतिकूल मौसमका कारण उडान प्रभावित

भिजिविलिटी कम हुँदा यतीको पोखरा उडान हुन सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ असोजः प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ ।

बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको राससलाई जानकारी दिनुभयो । यस्तै, मौसमका कारण माउण्टेन फ्लाइटसमेत स्थगित भएको छ ।

हाल बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीका साथै भारतको वनारस र कलकत्तामा उडान भर्दै आएको छ ।

यस्तै, यती एयरलाइन्सले आज सूचना जारी गरी प्रतिकूल मौसमका कारण यति एयरलाइन्सका उडान ढिलाइ र समय परिवर्तन हुनसक्ने जनाएको छ । यती एयरलाइन्सले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि एयरलाइन्सको वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो जानकारी जाँच गर्न अनुरोध गरेको छ ।

भिजिविलिटी कम हुँदा यतीको पोखरा उडान हुन नसकेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । मौसमका कारण अन्य गन्तव्यस्थलको पनि उडान समयमा हुन नसकेको प्रवक्ता बर्तौैलाले बताउनुभयो । आन्तरिक उडान अवरुद्ध हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरुको चाप बढेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया