तनहुँ, असोज १० गते । अविरल वर्षा र त्यसबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै यातायात व्यवस्था कार्यालय तनहुँ (डुम्रे) ले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरेको छ।
तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा रहेको कार्यालयले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार निरन्तर भइरहेको वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गर्दै परीक्षा तालिका संशोधन गरेको हो।
कार्यालयका अनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना रहेको र डुम्रे बजार क्षेत्रमा समेत निरन्तर वर्षा भइरहेकाले असोज ९ र १२ गतेका लागि तय गरिएका परीक्षा स्थगित गरिएको हो।
संशोधित तालिकाअनुसार असोज ९ गतेका लागि निर्धारित मोटरसाइकल, स्कुटर र कारको लिखित परीक्षा असोज १२ गते सञ्चालन हुनेछ। त्यसैगरी, असोज १२ गतेका लागि तय गरिएको मोटरसाइकल र स्कुटरको प्रयोगात्मक परीक्षा असोज १४ गते सञ्चालन गरिने कार्यालयले जनाएको छ।
कार्यालयका कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठका अनुसार परीक्षाबाहेकका अन्य नियमित सेवा र बाँकी परीक्षा तालिका भने यथावत् रूपमा सञ्चालन हुनेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया