असोज १५, २०८३ बिहिबार October 1, 2026

कांग्रेसमा वडादेखि केन्द्रसम्म कम्तीमा ४४ हजार युवा नेतृत्वमा आउँदै

विशेष महाधिवेशनपछि कांग्रेसका विभिन्न तहमा युवाको प्रतिनिधित्व उल्लेख्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नेतृत्वमा ‘दाइ–दिदी’ संस्कृतिको विरासत रहेको पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसमा यसपटक पुस्तान्तरण नारामा मात्र सीमित नरही संगठनको संरचनामै देखिन थालेको छ । १५औँ महाधिवेशनको प्रक्रियासँगै वडादेखि केन्द्रसम्म ठुलो संख्यामा युवा नेतृत्व तहमा आउँदै छन् ।

विधानमै युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरिनुले कांग्रेसको परम्परागत संरचनामा नयाँ पुस्ताको प्रवेश संस्थागत गरेको हो । युवाको प्रतिनिधित्वलाई नीति निर्माणसँग जोड्ने दाबी नेतृत्वको छ भने युवा नेता यसलाई पार्टीभित्र आफ्नो भूमिका विस्तारको सुरुवातका रूपमा लिइरहेका छन् ।

१५औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र क्षेत्रमा ठुलो संख्यामा युवाको प्रतिनिधित्व भएको छ वा अधिवेशन हुन बाँकी ठाउँमा पनि आउने निश्चित गरिएको छ । यसरी वडादेखि केन्द्रसम्म सबै तहका अधिवेशन–महाधिवेशन सकिँदासम्म कांग्रेसमा झन्डै ४४ हजार युवा पदीय जिम्मेवारीमा पुग्दै छन् ।

नेतृत्वका लागि लामो समय कुर्नुपर्ने र माथिल्लो पुस्ताको छायाबाट बाहिर निस्कन कठिन हुने गुनासो युवाको रहँदै आएको थियो । विशेष महाधिवेशनपछि कांग्रेसका विभिन्न तहमा युवाको प्रतिनिधित्व उल्लेख्य बढेको छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बन्यो । साथसाथै कांग्रेसमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधानसमेत संशोधन भयो । सोही विधानअनुसार हाल कांग्रेसको अधिवेशन भैरहेका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ भने क्षेत्रीय अधिवेशन पनि अधिकांश स्थानमा सम्पन्न भइसकेको छ ।

वडा कार्यसमितिमा कम्तीमा १० हजार २७१ युवा छानिएका छन् भने क्षेत्रीय प्रतिनिधिमा कम्तीमा ३३ हजार ७१५ युवा चयन भएका छन् । कांग्रेसको माथिल्लो तहमा पुग्न क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनैपर्छ । क्षेत्रीय प्रतिनिधिमा हरेक वडाबाट कम्तीमा तीनजना छनोट भएका छन् ।

क्षेत्रीय प्रतिनिधिले मात्रै पालिका र प्रदेश प्रतिनिधिका साथै महाधिवेशन प्रतिनिधि बन्न पाउँछन् । महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला र प्रदेशको नेतृत्वका साथै केन्द्रीय कार्यसमितिको उम्मेदवार बन्न पाउँछन् ।

पालिकामा कम्तीमा २२५९ युवा छानिएका छन् । प्रत्येक गाउँपालिका कार्यसमितिमा ३० वर्षमुनिको कोटाबाट एक महिलासहित तीन युवा चयन भएका छन् । यस्तै, नगरपालिकातर्फ ३० वर्षमुनिका एक महिलासहित तीन युवा कार्यसमितिमा आएका छन् ।

विधान मस्यौदा समितिका सदस्यसचिव तथा सभापति थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलले सबै तहमा युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरिएको र सुझावका आधारमा महासमितिमा अझै थप परिमार्जन हुन सक्ने बताए । ‘भदौ २३ र २४ को युवा विद्रोहपछि कांग्रेसले विधानको प्रस्तावनामै युवाको विषयलाई समावेश गर्दै ग्रहण गर्‍यो र विधानमा संरचनागत परिवर्तन भयो । कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहँदा सबैभन्दा बढी आकर्षण युवामा देखिएको छ । प्रतिस्पर्धा पनि युवामै छ,’ पौडेलले भने, ‘वडादेखि केन्द्रसम्म युवाको न्यूनतम प्रतिनिधित्व कांग्रेसले सुनिश्चित गरेको छ । प्रत्येक वडाबाट क्षेत्रीय प्रतिनिधि कम्तीमा तीनदेखि सातजनासम्म चयन भएका छन् । समग्रमा चार–पाँचजनाको हिसाबले वडाबाट युवा क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् । सबै तहमा युवाको न्यूनतम प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’ उनका अनुसार सुझावका आधारमा महासमितिमा विधानमा थप परिमार्जन हुन सक्छ । ‘युवालाई नीति निर्माणको तहमा स्थापित गर्ने हाम्रो सोच हो,’ उनले भने ।

नेपालका कुनै पनि राजनीतिक दलमा एकैपटक यति धेरै युवाले पदाधिकारीको जिम्मेवारी पाएको इतिहासमै पहिलोपटक भएको पौडेलको दाबी छ । ‘राष्ट्रिय मान्यताप्राप्त दलमध्ये सबैभन्दा कम उमेरको सभापति कांग्रेसकै हुनुहुन्छ । युवालाई राजनीतिमा स्थापित गर्ने उद्देश्यले विधानमै व्यवस्था गरिएको हो,’ उनले भने । उनका अनुसार कांग्रेस अब युवामैत्री पार्टीका रूपमा अघि बढिरहेको छ । विशेष महाधिवेशनपछि ३० वर्षमुनिका एक लाखभन्दा बढी सक्रिय सदस्य थपिएको उनले दाबी गरे ।

तनहुँकी युवा नेतृ एलिजा ढकालले कांग्रेस अब दाइदिदीहरूको मात्रै नभई सबैको पार्टी भएको सन्देश प्रवाह भएको बताइन् । ‘कांग्रेसले सबै तहमा सबै उमेर समूहको प्रतिनिधित्व हुने गरी विधान बनाएकाले युवाको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित भएको छ । बा, दाइदिदीहरूको सोच र भावना तथा युवाको सोचको सम्मिश्रणबाट कांग्रेस नयाँ ढंगले अघि बढ्दै छ भन्ने यो एउटा उदाहरण हो,’ उनले भनिन्, ‘वडादेखि केन्द्रसम्म सबै उमेर समूहको प्रतिनिधित्व सुनिश्चित भएको छ । कांग्रेसजस्तो पुरानो लोकतान्त्रिक पार्टी अब दाइदिदीहरूको मात्र होइन, सबैको पार्टी हो भन्ने सन्देश प्रवाह भएको छ ।’

त्यस्तै, चितवनका शंकर तिवारीले कांग्रेसमा युवाको प्रतिनिधित्वले लोकतन्त्रलाई मजबुत बनाउन भूमिका खेल्ने बताए । ‘कांग्रेसमा युवाहरू भोटर बैंकमा मात्र केन्द्रित छन् भन्ने भाष्य अहिले चिरिँदै गएको छ । विशेष महाधिवेशनपछि युवा वर्गको हस्तक्षेपकारी भूमिका हुनुपर्छ, नीति–निर्माणमै हस्तक्षेप गर्नुपर्छ भन्ने भावना विकास भएको छ,’ उनले भने, ‘वडादेखि केन्द्रसम्मै युवा प्रतिनिधित्व सुनिश्चित भएको छ । तर, युवाको हस्तक्षेपकारी भूमिकाका लागि क्लस्टरबाट मात्र सम्भव छैन । युवालाई स्वीकार गर्ने अवस्थामा जिल्ला तहमा अझै समस्या देखिन्छ ।’

उनले त्यसलाई पनि सुधार गर्नुपर्ने बताए । ‘राम्रो सुरुवात भएको छ । राजनीतिक दलमा युवाको प्रतिनिधित्व बढाउनु भनेको लोकतन्त्रको आधार बलियो बनाउनु हो । कांग्रेसमा युवा प्रतिनिधित्वले लोकतन्त्रलाई मजबुत बनाउन भूमिका खेल्छ । यसले युवामा उत्साह पैदा गरेको छ,’ तिवारीले भने ।

यस्तै, कपिलवस्तुका युवा नेता सौरभ चतुर्वेदीले विचारसहितको युवा प्रतिनिधित्वले राजनीतिक दलसँगै समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘युवाहरू स्पष्ट वक्ता हुन्छन् । पार्टीमा युवाको प्रवेशपछि नयाँ सोच र नयाँ विचार आउँछ । युवाको उल्लेख्य प्रतिनिधित्वले कांग्रेस रूपान्तरणमा अहं भूमिका खेल्छ,’ उनले भने, ‘वडाबाट युवाको प्रवेश भएर केन्द्रसम्म प्रतिनिधित्व सुनिश्चित भएको छ । यसले कांग्रेसलाई नयाँ ढंगले अगाडि बढाउन सहयोग पुर्‍याउँछ । विचारसहितको युवा प्रतिनिधित्वले राजनीतिक दलसँगै समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्नेछ ।’ नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया